भारतले चिनी निर्यातमा लगाउँदै आएको प्रतिबन्ध लब्याएको छ । भारतको वैदेशिक व्यापार निर्देशनालयले बुधबार जारी गरेको सूचना अनुसार चिनी निर्यातमा लगाएको प्रतिबन्ध अक्टोबर ३१ पछि पनि विस्तार गर्ने निर्णय गरेको ब्लुमबर्गले उल्लेख गरेको छ । भारतले सन् २०२२–२३ मा चिनी निर्यातमा कोटा प्रणाली लागू गरेको थियो ।
ढिलो सुरु भएको वर्षाले उत्पादन घटाएपछि चिनीको निर्यात करिब ६० लाख टनमा सीमित गरेको थियो । अघिल्लो वर्ष भने भारतले १ करोड १० लाख टनसम्म चिनी निर्यात गरेको थियो । भारतको प्रतिबन्धले विश्वभर चिनीको भाउ बढ्ने र खाद्यान्न उद्योगहरुको लागतमा पनि वृद्धि हुने देखिन्छ ।
चिनी निर्यातमा लगाइएको प्रतिबन्ध विस्तार गरेपनि सन् २०२३–२४ को लागि मिलरहरुलाई छुट्याइने निर्यात कोटाको आकार (यदि कोटा छुट्याइएको भएमा) स्पष्ट पारेको छैन । भारत उखुको दोस्रो ठूलो उत्पादक राष्ट्र हो । यद्दपि, भारतमा यस वर्ष मनसुन विगत ५ वर्षयताकै कमजोर बनेपछि उत्पादनमा संकुचन आउने देखिएको छ ।
गत सेम्टेम्बर महिनामा कच्चा चिनीको फ्यूचर्स १२ वर्षयताकै उच्च विन्दुमा पुगेको थियो । चिनीको आयातमा भर पर्ने राष्ट्रहरुमा यसको असर झन् धेरै देखिनेछ । नेपालमा अहिले नै चिनीको हाहाकार रहेको छ । चर्को मूल्य तिर्न खोज्दा पनि चिनी सहजरुपमा पाउने अवस्था छैन ।
भारतीले चिनी निर्यातमा प्रतिबन्ध लगाएमा नेपालमा भाउ झनै आकाशिने देखिन्छ । नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन चिनी खपत हुने गरेको छ । सोमध्ये १ लाख ६० हजार मेट्रिक टन बराबरको चिनी भारतबाट हुने आयातले धानिरहेको छ ।