भारतसँग व्यापार घाटा ७ खर्ब नाघ्यो, चीनसँग पनि उच्च अन्तर

लामो समयपछि मुलुकको निर्यात व्यापारमा उल्लेखनीय रूपमा वृद्धि भएको छ। सोयाबिन तेल र सनफ्लावर तेलको व्यापारले निर्यातमा नयाँ कीर्तिमान कायम भएको हो। चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म)मा नेपालबाट करिब सवा दुई खर्ब रूपैयाँको वस्तु निर्यात भएको छ। यो अहिलेसम्मकै धेरै हो।

गत आवको तुलनामा निर्यात ७२.७१ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ। स्वदेशमा उत्पादन गरेको नभई तेलको कच्चा पदार्थ आयात गरेर निर्यात बढेकाले यो निर्यात दिगो नहुने जानकार बताउँछन्।

EPIC EPIC EPIC EPIC EPIC

विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखसम्म दुई खर्ब १७ अर्ब ९१ करोड रूपैयाँको वस्तु निर्यात भएको छ। यसले निर्यातमा नयाँ कीर्तिमान कायम भएको छ। अहिलेसम्म यो मूल्यबराबरको बस्तु निर्यात भएको थिएन।

यो वर्ष पोहोरको सोही अवधिको तुलनामा करिब ९१ अर्ब रूपैयाँले बढेको छ। गत आव २०८०/८१ मा एक खर्ब ५२ अर्ब रुपैयाँको मात्र वस्तु निर्यात भएको थियो भने आव २०७९/८० मा एक खर्ब ५७ अर्ब रुपैयाँको निर्यात भएको थियो।

चालु आवमा सोयाबिन तेलको निर्यात ह्वात्तै बढेपछि निर्यात व्यापारमा उल्लेखनीय वृद्धि भएको हो। भन्सार विभागका अनुसार १० महिनामा ७८ अर्ब ७५ करोड रूपैयाँ मूल्यको सोयाबिन तेल निर्यात भएको छ। सबैभन्दा धेरै निर्यात हुने टप फाइभमा तेल रहेको छ। यो अवधिमा वनस्पति तेल र यसको कच्चा पदार्थको आयात एक खर्ब २० अर्ब रूपैयाँ हाराहारी रहेको छ।

त्यसैगरी, दोस्रो स्थानमा १० अर्ब ९ करोड रूपैयाँको सनफ्लावर तेल निर्यात भएको छ। त्यसैगरी, आठ अर्ब ८४ करोड रूपैयाँको कार्पेट, ६ अर्ब ६७ करोड रूपैयाँको अलैंची, चार अर्ब ७९ करोड रूपैयाँको स्टिल निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ।

विभागका अनुसार समग्रमा वैदेशिक व्यापार बढेको छ। पोहोरको तुलनामा कुल वैदेशिक व्यापार १८.३७ प्रतिशतले बढेको छ भने आयात १३.११ प्रतिशतले बढेको छ। यो अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोडको आयात भएको छ।

गत वर्षको सोही अवधिमा १३ खर्ब तीन अर्ब रूपैयाँको वस्तु आयात भएको थियो। १० महिनाको अवधिमा १६ खर्ब ९२ अर्बको वैदेशिक व्यापार भएको छ। मुलुकको व्यापार घाटा १२ खर्ब ५६ अर्ब रूपैयाँ पुगेको छ। गत वर्षको तुलनामा व्यापार घाटा ६.७२ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ।

भारतबाट आठ खर्ब ८० अर्ब रूपैयाँको वस्तु आयात भएको छ भने एक खर्ब ७६ अर्ब रूपैयाँको वस्तु निर्यात भएको छ। यसरी हेर्दा भारतसँग मात्र ७ खर्ब ४ अर्ब रूपैयाँको व्यापार घाटा छ।

त्यसैगरी, अर्को छिमेकी चीनसँग पनि दुई खर्ब ७४ अर्ब रूपैयाँको व्यापार घाटा छ। चीनबाट २ खर्ब ७७ अर्बको वस्तु आयात भएको छ भने दुई अर्ब ३९ करोड रूपैयाँको वस्तु मात्र निर्यात भएको छ।सरकारले स्वदेशमा खपत हुने वस्तुको उत्पादन वृद्धि गरेर व्यापार घाटा घटाउँदै लैजाने बताउँदै आए पनि व्यापार घाटा घटेको छैन। नेपालको १३० भन्दा बढी मुलुकसँग व्यापार घाटा छ।

भौगोलिक सीमा जोडिएका छिमेकी मुलुक भारत र चीनसँग सबैभन्दा धेरै व्यापार घाटा हुनु चिन्ताको विषय हो। नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुमा इन्धन रहेको छ। डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, भटमासको कच्चा तेल, मोबाइल फोन, रेडिमेट गार्मेट, खाद्यान्न तथा तरकारीलगायत वस्तुहरू विदेशबाट आयात हुन्छ।

सरकारले व्यापार घाटा कम गर्न र निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने नीति लिए पनि मुलुकको व्यापार घाटा घटेको छैन। नेपालमै उत्पादन गर्न सकिने वस्तुमा पनि विदेशको भर पर्नुपर्दा व्यापार घाटा कायम छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *