झापा – भारतिय अतिक्रमणका कारण झापाको गौरीगञ्ज-२ स्थित पिण्डालघुटु गाउँका सन्थाल परिवारहरू विस्थापनको जोखिममा परेका छन्। नेपाली भूमि मिचिँदा पनि राज्यबाट कुनै चासो नआएपछि उनीहरू आफ्नो पुर्ख्यौली थातथलो छाड्न बाध्य भएका छन्।
२०५५ सालअगाडि कमल खोलाको पूर्वपट्टि रहेको दशगजा क्षेत्र भारतले मिच्दै पश्चिमतर्फ सारेपछि पिण्डालघुटु गाउँ नै अतिक्रमणमा परेको स्थानीयहरू बताउँछन्। अहिले दशगजा क्षेत्र गाउँको बीचमा आइपुग्दा यहाँका १९ नेपाली परिवार विस्थापनको खतरामा छन्।
भारतिय सीमा सुरक्षा बल (एसएसबी) को दादागिरी सहन नसकी गत वर्ष बरियार सोरेनको परिवार गाउँ छाड्न बाध्य भएको थियो। अहिले उनका दाजु जेठा सोरेनलाई पनि एसएसबीले घर खाली गर्न निरन्तर दबाब दिइरहेको छ। स्थानीयका अनुसार एसएसबीले धम्की र बल प्रयोग गर्नेसम्मको चेतावनी दिएको छ।
२०७९ माघमा दुबै देशका सुरक्षा निकायबीच भएको सहमतिअनुसार दशगजाभित्र रहेका केही घरहरू खाली गराउने निर्णय भएको थियो। तर, सो सहमति प्रभावित परिवारलाई जानकारी नै नदिई गरिएकाले उनीहरू अन्यायमा परेको स्थानीय अगुवाहरू बताउँछन्।
२०५५ सालअघि कमल खोलाको पूर्वी किनारमै रहेको दशगजा क्षेत्रलाई विवादको बहानामा पश्चिम सारिएको थियो। १९७९ मा कायम गरिएको २६ नम्बरको रिफ्रेन्स पिलर आजसम्म यथावत रहे पनि २०५५-५६ मा नेपाल-भारत सीमा नापजाँचका क्रममा अन्य सीमा स्तम्भ नेपाली भूभागतर्फ सारिएको थियो।
स्थानीयहरूका अनुसार, २०७४ सालमा भारतले एकलौटी रूपमा साना पिलरहरू हटाएर ठूला पिलर गाड्यो। त्यही समयमा आएको बाढीले गाउँलाई क्षति पुर्याएपछि राहत लिन गएका स्थानीयहरू फर्किंदा आफ्नो गाउँमा ठूला पिलर गाडिएको भेट्टाएका थिए।
अहिले १४२/८ नम्बरको पिलर बुधलाल हेमरमको आँगनमै गाडिएको छ भने १४२ नम्बरको जंगी पिलर खोलाको पश्चिम किनारमा सारेर गाउँको उत्तरतिर राखिएको छ। यी स्तम्भहरूको बीचमा पर्ने घरहरूलाई भारतले खाली गराउन खोजिरहेको छ।
सीमा स्तम्भ सारिएपछि नेपालीहरूको झन्डै ५० बिघा जमिन भारतिय पक्षको कब्जामा गएको छ। कृष्णप्रसाद राजवंशी, योगेन्द्र राजवंशी, कात्तिकलाल राजवंशी, उत्तमलाल राजवंशी, राजेन्द्र राजवंशी, ओमप्रकाश राजवंशी, चन्द्रमोहन राजवंशी, बनुवा राजवंशी लगायतका स्थानीयको जग्गा भारतले आफ्नो नियन्त्रणमा लिएको छ।
यसबारे पटक–पटक स्थानीय प्रशासन र सरकारलाई गुहारे पनि कुनै ठोस पहल नभएको उनीहरूको गुनासो छ। “हामी आफ्नो जग्गाको मालपोत नेपाल सरकारलाई तिर्छौं, तर हाम्रो जमीन भारतले कब्जा गरिरहेको छ। हाम्रो सुरक्षाका लागि सरकारले केही गर्नुपर्ने हो,” एक पीडित स्थानीयले भने।
सिमानामा नेपाली पक्षले दुई वर्षअघि सीमा सुरक्षा बल (एपीएफ) को बेस क्याम्प स्थापना गरे पनि त्यसको प्रभावकारीता स्थानीयहरूले महसुस गर्न सकेका छैनन्। “एसएसबीले नियमित रूपमा सीमा स्तम्भहरूको अनुगमन गर्छ, हाम्रो गाउँमा आएर त्रास पैदा गर्छ। तर, हाम्रो सुरक्षा बलबाट भने कुनै ठोस समर्थन पाएका छैनौं,” स्थानीयको गुनासो छ।
सीमा अतिक्रमणको समस्या समाधानका लागि तत्काल नेपाल सरकारले कूटनीतिक पहल गरी नेपाली भूमिमा बढ्दो हस्तक्षेप रोक्न आवश्यक छ। अन्यथा, सन्थाल समुदायको यो बस्ती इतिहासमै सीमित हुने खतरा बढेको छ।