Search
Close this search box.
Search
Close this search box.

भारतीय ट्रक चालकको मृत्यु प्रकरण: दुर्गा प्रसाईंका ९ समर्थक पुर्पक्षका लागि जेल चलान

झापा। कर्तव्य ज्यान मुद्दामा पक्राउ परी प्रहरी हिरासतमा रहेका बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंका ९ जना समर्थक मंगलबार जेल चलान भएका छन्।

उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो। बयानका लागि झापा जिल्ला अदालत उपस्थित गराइएका उनीहरुलाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए।

EPIC EPIC EPIC

ज्यान मुद्दामा कारागार चलान हुनेहरुमा हल्दिबारी –१ स्थायी ठेगाना भई हाल बिर्तामोड ५ बस्ने राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानको भ्रातृ संगठन पीडीएफका झापा संयोजक ४० वर्षीय भिम तुम्बापो लिम्बू, पीडीएफका सहसचिव बिर्तामोड– ७ बस्ने ३३ वर्षीय सुरेश चौधरी, पीडीएफका सदस्यहरु हल्दिबारी १ बस्ने २४ वर्षीय विवश लिम्बू, बुद्धशान्ति –४ बस्ने बलिहाङ माबो लिम्बू, पीडीएफका मेचीनगर इन्चार्ज मेचीनगर– ६ बस्ने ३४ वर्षीय राजेश महत, पीडीएफका कोषाध्यक्ष अर्जुनधारा–९ बस्ने ३८ वर्षीय रुद्र भुजेल, पीडीएफका सल्लाहकार हल्दिबारी– १ बस्ने ५१ वर्षीय विरबहादुर गुरुङ, पीडीएफका सदस्य बिर्तामोड– ३ बस्ने ३५ वर्षीय उदय लिम्बू र पीडीएफकै सदस्य बाह्रदशी–६ बस्ने अन्दाजी २४ वर्षीय खगेन्द्र राजवंशी रहेका छन्। फरार रहेका राजवंशीलाई प्रहरीले पछि पक्राउ गरेको थियो।

उनीहरुले आगजनी गरेको भारतीय ट्रकका चालकको मृत्यु भएपछि कर्तव्य ज्यानमा कारबाही अगाडि बढाएको थियो। झापा जिल्ला अदालतबाट आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा म्याद थप लिई अनुसन्धान भइरहेकोमा भारतमा उपचारार्थ ट्रक चालक पोदो रायको गत असोज १९ गते मृत्यु भएपछि कर्तव्य ज्यानमा समेत थप कारबाही अगाडि बढाइएको थियो।

अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईं काठमाडौँमा पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकहरुले गत असोज ६ गते राति १०ः३० बजे कनकाई नगरपालिका वडा नं. ८ स्थित बिरिङ पुलमा भारतको सिलिगुडीबाट प्लाईको फेस पत्ता बोकी नेपालको सिरहातर्फ गइरहेको कुमार महतोले चलाएको भारतीय ट्रक र सोही रातिको बिहान २ः३० बजे बिर्तामोड नगरपालिका वडा नं. ६ गिरीबन्धु टि–स्टेटस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको पोदो रायले चलाएको अर्को भारतीय ट्रकलाई आगजनी गरेका थिए।

मोटरसाइकलमा आएका दुर्गाका समर्थकहरुले ट्रक चालकलाई मार्ने उद्देश्यले प्लाष्टिकको बोतलमा बोकेको पेट्रोलमा आगो लगाएर (पेट्रोल बम) ट्रकको क्याबिनमा प्रहार गरी आगजनी गरेका थिए।

ट्रक चालक कुमार महतो घाइते भई भाग्न सफल भएका थिए भने अर्का ट्रक चालक पोदो राय जलेर गम्भीर घाइते भएका थिए। रायलाई बीएण्डसी अस्पतालमा उपचार गरी थप उपचारको लागि भारतको सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेज एण्ड हस्पिटल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको थियो।

भारतीय ट्रक चालकको मृत्यु भएपछि उनका आफन्तहरुले एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाका अवरोध गरेका थिए। भारतीय प्रहरीले नेपाल प्रहरीसँग सहजीकरण गरी मृतकको शव नेपाल पठाएको थियो। प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी प्रहरीले शव आफन्तलाई जिम्मा लगाएको थियो।

उदण्ड गतिविधि गर्दै आएपछि प्रसाईंका समर्थकहरु एकपछि अर्को गरी पक्राउ पर्दै गएका छन्। गत असोज २५ गते पीडीएफका केन्द्रीय अध्यक्ष मिलन लामा काठमाडौँमा पक्राउ परेका थिए।

पुण्य गौतमलाई आक्रमण गरेको आरोपमा पीडीएफका केन्द्रीय अध्यक्ष रसुवा नवकुण्ड ५ का ४१ वर्षका मिलन भनिने दिलबहादुर गङ्दान र काभ्रे तेमालका ३० वर्षका टासी लामा पक्राउ परेका हुन्।

साइबर अपराधमा पक्राउ परेका दुर्गा प्रसाईं पनि एक लाख रुपैयाँ धरौटी तिरेर ९ दिनपछि रिहा भएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *