ट्रेडमार्क स्वीकृति भयो, अलैंची निर्यात भएन
झापा/भारतको आसाम राज्यमा यसपटक अलैंचीको उत्पादनमा कमी आएसँगै भारतीय व्यापारीहरु झापाको बिर्तामोडलाई केन्द्र बनाएर अलैंची खरिद सुरु गरेका छन् । आसाममा ठूलो परिमाणमा अलैंची खरिद गर्दै आएका सुनिल बिन्दलले यस वर्ष बिर्तामोडमा खरिद केन्द्र सञ्चालनमा ल्याइसकेका छन् ।
जसकारण यस वर्ष अलैंचीले राम्रो मूल्य पाउने किसानमा आशा पलाएको छ । यस वर्ष भारतको आसाम राज्यमा अलैंचीको उत्पादन घटेकाले त्यहाँ जाने भारतीय व्यापारीहरू नेपालको अलैंची किन्न आएको अलैंची व्यवसायी महासंघका सचिव मात्रिका घिमिरेले बताए । विगतमा प्रतिमन १ लाख रुपैयाँसम्म कारोबार हुँदै आएको अलैंची गत वर्ष २० हजार रुपैयाँसम्म झरेको थियो ।
भारतीय व्यापारीले खरिद सुरु गरेसँगै अहिले अलैंची प्रतिमन २७ हजार रुपैयाँ पुगेको छ । कोरोना महामारीका थप खुम्चिएको अलैंचीको बजारमा सुधार हुने संकेत देखिएको उनी बताउँछन् । पछिल्लो समय उत्पादनमा आएको सुधार र मूल्य वृद्धिले किसान उत्साहित भएको इलामका अलैंची कृषक ख्याम भट्टराईले बताए ।
ट्रेडमार्क कागजमै सीमित
नेपालका किसानले अलैंचीको टे«डमार्क पाएपछि अहिले ‘एभरेस्ट विग कार्डामाम’ का नामले अलैंची निकासी हुन थालेको छ । त्यो टे«डमार्क पाकिस्तानमा दर्ता भइसकेको छ । भारतमा अन्तिम चरणमा छ भने संयुक्त अरब इमिरेट्समा दर्ता हुने अन्तिम चरणमा छ । सरकारले २०७३ साल असार १९ गते अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दा नेपालकै नाममा निर्यात होस् भन्ने उद्देश्यले अलैंचीको ट्रेडमार्क बनाएको थियो ।
पाकिस्तानमा टे«डमार्क स्वीकृत भएपनि स्थलमार्गबाट अलैंची भारत हुँदै पठाउनुपर्ने बाध्यता रहेको कारण निर्यातमा कठिनाई झेल्नु परेको अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीले बताए । “जसकारण टे«डमार्क स्वीकृति पाएपनि नेपाली अलैंची पाकिस्तान निर्यात गर्न सकेका छैनौँ” कार्कीले भने, “ट्रेडमार्क कागजमै सीमित छ, अलैंचीको मूल्य टिम्मुरको भन्दा कम छ ।” एयर कार्गोबाट तेस्रो मुलुकसम्म अलैंची पठाउँदा महँगो पर्ने अध्यक्ष कार्की बताउँछन् ।
नेपाली अलैंचीमा भारतले लगाउँदै आएको जीएसटी र तेस्रो मुलुकमा सोझै व्यापार गर्न नेपाली अलैंचीलाई भन्सार लगाएका कारण अलैंचीले मूल्य पाउन भने नसकेको अध्यक्ष कार्की बताउँछन् । भारतको अलैंची र नेपालबाट भारत गएको अलैंची भुटान हुँदा विना भन्सार बंगलादेश पुग्ने गरेको छ । तर, नेपालबाट सोझै बंगलादेश पठाउँदा ३५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने बाध्यता छ । बंगलादेश, भुटान र पाकिस्तानमा नेपाली अलैंचीमा लाग्दै आएको ड्युटी कस्टम घटाउनका लागि सरकारसँग छलफल गर्ने तयारी गरेका छौँ, जसले नेपाली अलैंचीको मूल्यमा वृद्धि हुन्छ ।
करै करको झमेलामा कृषक
प्रदेश–१ का कतिपय स्थानीय तहले अलैंची निर्यातमा कर लगाएको भन्दै त्यसको अन्त्य हुनुपर्ने व्यवसायीको माग छ । हरेक स्तानीय तहमा कर तिर्दै अलैंची ढुवानी गर्न नसकिने महासंघका सचिव घिमिरेले बताए । “गत वर्ष अलैंची व्यवसायी संघले धनकुटामा गरेको कार्यक्रममा बोल्दै प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा उत्पादित कृषिजन्य वस्तुमा कुनैपनि कर नलगाउने घोषणा गर्नुभएको थियो” घिमिरेले भने, “तर, गत मंसिरमा कटारी नगरपालिका उदयपुरका सुवास कार्कीले ४ टन अलैंची बिक्री गर्नका लागि नगरपालिकामा मात्र २२ हजार ६ सय रुपैयाँ कर बुझाउनु प¥यो ।”
मन्त्री स्वयम्ले गरेको घोषणा कार्यान्वयन गर्न नसक्दा कृषक मारमा परेको घिमिरे बताउँछन् । जसकारण अन्तर्राष्ट्रिय बजारमा ब्राण्ड बनाएको अलैंचीले अझैसम्म उचित मूल्य पाउन नसकेको उनको भनाइ छ । निर्यातजन्य प्रमुख नगदेबालीको रुपमा रहेको अलैंची नेपालमा वर्षेनी ६ हजार मेट्रिक टन उत्पादन हुँदै आएको छ ।
मनिषा चम्लागाईँले कारोबार दैनिकमा खबर लेखेकी छिन् ।