काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा र कतिपय स्थानमा अतिभारी वर्षा हुन सक्ने प्रक्षेपण गरेसँगै सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझ देखिनै काठमाडौँका जोखिमयुक्त स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरेको छ ।
सम्भावित मनसुनजन्य विपदलाई मध्यनजर गर्दै चोभार, बल्खु, बालाजु, माछापोखरी र बनस्थलीलगायत स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बलले खोला किनार तथा डुबान हुन सक्ने सम्भावित ठाउँको पहिचान गरी त्यस इलाकाका बासिन्दालाई सुरक्षित रहन र तत्काल उद्धार आवश्यक परेमा १११४ मा तत्काल फोन गर्न समेत आग्रह गरेको हो ।
यसैबीच, सशस्त्र प्रहरीले सम्भावित जोखिम न्यूनीकरण र विपद् प्रतिकार्यका लागि देशभरका युनिटलाई आवश्यक श्रोत साधनसहित तयारी अवस्थामा राखेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै युनिटलाई विपद् पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको सहप्रवक्ता थापाले जानकारी दिए।
विपद्को अवस्थालाई मध्यजनर राख्दै सशस्त्र प्रहरीका गोताखोर, विपद् उद्धार तालिम प्राप्त जनशक्ति, र्याफ्ट बोट, मोटरबोट, हेभी इक्युपमेन्ट, एम्बुलेन्सलगायत उपकरण तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।