- निशान निरौला
झापा – अभिनयमा निरन्तरता दिइरहेका पूर्वेली कलाकार भुवन खड्का अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। समाजमा भएका यथार्थ घटनालाई समेटिएको यस भावनात्मक (सेन्टिमेन्टल) गीतमा खड्काले अत्यन्त जीवन्त अभिनय प्रस्तुत गरेका छन्।
दर्जनौँ म्युजिक भिडियो, चलचित्र र टेलिसिरियलमा अभिनय गरिसकेका खड्काले यसपटकको भिडियोमा कलाकार कौशिला राजवंशी र मनिषा विश्वकर्मासँग सहअभिनय गरेका छन्।
गीतका शब्द प्रकाशकला श्रेष्ठले लेखेकी हुन् भने डिम्पल अधिकारीको सुमधुर स्वरले गीतमा भावनात्मकता थपेको छ। कम्पोज काव्य रेकर्ड स्टुडियो, दमकमार्फत तयार पारिएको गीतमा अशोक थापाको संगीत संयोजन रहेको छ।
भिडियो अशोक लाखेको निर्देशनमा तयार भएको हो। छायांकन सोम मग्राती, सम्पादन मुहारसिंह थापा मगर (मुहा क्रिएटिभ स्टुडियो, मङ्गलबारे) र सिङ्गर सुमन मग्राती रहेका छन्।
गीतकी लेखक तथा निर्मातासमेत रहेकी प्रकाशकला श्रेष्ठका अनुसार, “भिडियोले दर्शकको मन छोनेछ भन्ने हाम्रो विश्वास छ।” निर्देशक अशोक लाखे भन्छन्, “गीतमार्फत् समाजमा भइरहेका यथार्थ घटनालाई प्रभावकारी रूपमा देखाउन खोजिएको छ।”
कलाकार खड्का भन्छन्, “म सेन्टिमेन्टल गीतमा अभिनय गर्न रुचाउँछु। जीवन्त अभिनय दिन सधैं तत्पर छु। यो भिडियोले दर्शकको मन जित्नेछ भन्ने विश्वास लिएको छु। आगामी दिनमा नयाँ भिडियोहरूमा पनि अभिनय गर्दै जाने योजना बनाएको छु।”
पूर्वी नेपालमै बसेर निरन्तर सिर्जनामा सक्रिय रहँदै आएका खड्का पछिल्लो समय धेरै निर्माता–निर्देशकको रोजाइमा पर्न थालेका छन्।
उक्त म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ र छोटो समयमै राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ।