Search
Close this search box.
Search
Close this search box.

भिजिट भिसाको निहुँमा महिला तस्करी, टार्गेटमा निरक्षर नेपाली

घरेलु काममा लगाइएका महिलाहरू शारीरिक यातना र यौन शोषणमा पर्न थालेपछि सरकारले घरेलु काममा महिलाहरूलाई विदेश जान रोक लगाएको छ। तर पनि, लुकिछिपी एजेन्टहरूले विदेश पुर्‍याउने क्रम जारी छ।

त्यसैको ज्वलन्त उदाहरण हुन्- २६ वर्षीया रिना तामाङ (नाम परिवर्तन)। नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा पठाइदिने भन्दै ४७ वर्षीय श्यामबाबु बराकोटीलेले रितालाई २५ माघ ०७९ मा भिजिट भिसामा कुवेत पुर्‍याएका थिए। कुवेत पुगेपछि श्यामबाबुले रिताको राहदानीलगायत कागजात नियन्त्रणमा लिई श्रीलंकन एजेन्टलाई जिम्मा लगाइदिए। ती एजेन्टले कुवेती नागरिकको घरमा पुर्‍याए।

EPIC

सन्चो नहुँदासमेत साहुले काममा लगाउन थालेपछि उनी एक महिनामै घर फर्कन चाहन्थिन्। तर, घर फर्कन साहुले ५ लाख रकम मागे। रिनाले नेपालमा आफन्तलाई फोन गरेर श्यामबाबुले भनेको खातामा ३ लाख जम्मा गर्न लगाएकी थिइन्। रकम जम्मा गरेपछि २१ फागुन ०७९ मा उनी नेपाल फर्कन सफल भइन्।

नेपाल फर्केलगत्तै रिनाले श्यामबाबुविरुद्ध मानव बेचविखन तथा अनुसन्धान ब्युरोमा जाहेरी दिइन्। ब्युरोबाट खटिएको टोलीले श्यामबाबुलाई २१ जेठ ०८१ मा धादिङको बेनीघाट रोराङ गाउँपालिका-४ बाट पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

०००

यस्तै, १९ वैशाख ०८१ मा दाङको बबई गाउँपालिका-५ का ४५ वर्षीय पूर्णबहादुर भण्डारीलाई मानव बेचविखन तथा अनुसन्धान ब्युरोबाट खटिएको टोलीले पक्राउ गरेको थियो। कुवेतमा राम्रो आम्दानी हुने प्रलोभन देखाई २६ वर्षीया युवतीलाई भारतको नयाँदिल्ली पुर्‍याई वेश्यावृत्तिमा लगाएको जाहेरी ब्युरोमा परेपछि उनी पक्राउ परेका थिए।

कुवेतको प्रलोभन देखाई भारतमा बेचिएकी ती युवती तीन महिनापछि भागेर नेपाल आउन सफल भएकी थिइन्। नेपाल आएलगत्तै तीनै युवतीले पूर्णबहादुरविरुद्ध मानव बेचबिखन तथा अनुसन्धान ब्युरोमा जाहेरी दिएकी थिइन्। उनकै जाहेरीको आधारमा ब्युरोबाट खटिएको टोलीले पूर्णबहादुरलाई १९ वैशाखमा नियन्त्रणमा लिएको थियो।

पीडित २६ वर्षीया महिलाले ब्युरोमा दिएको बयानअनुसार प्रतिवादी भण्डारीले कुवेत पठाउन आफैंले लगानी गरिदिने र उता गइसकेपछि तिर्नुपर्ने भन्दै प्रलोभनमा पारेका थिए। कुवेत पठाइदिने भन्दै काठमाडौं नयाँ बसपार्कमा कोठा भाडामा लिई १० दिन राखेका थिए।

त्यसपछि स्वास्थ्य परीक्षणका लागि भन्दै २२ जेठ ०८० मा ती युवतीलाई काठमाडौंबाट एम्बुलेन्समा राखेर बुटवलको होटेलमा पुर्‍याए। भारतबाट विदेश जाने प्रक्रिया छिटो हुन्छ भन्दै सुनौली नाकाबाट उनले भारतीय भूमिमा प्रवेश गराए। त्यसपछि नयाँदिल्लीको एयरपोर्ट नजिकैको फ्ल्याटमा राखी बन्धक बनाई यौनशोषण गरेको युवतीले जाहेरीमा खुलाएकी छन्। बन्धक बनाई वेश्यावृत्तिमा लगाइएकी ती युवती १३ असार ०८० मा नयाँदिल्लीबाट भागी नेपाल फर्किएकी थिइन्।

०००

पछिल्लो केही वर्षयता म्यानपावरका दलालहरूले गाउँका विपन्‍न परिवारका निरक्षर महिलाहरूलाई फकाइफुल्याइ भिजिट भिसामा विदेश पठाउने क्रम बढ्दै गएको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रवक्ता एवम् एसपी गौतम मिश्र बताउँछन्।

उनका अनुसार भिजिट भिसामा विदेश पठाउने एजेन्टले फ्रि भिसा, फ्रि टिकट भन्दै युवतीहरूलाई काठमाडौं बोलाई भाडाको कोठामा राख्‍ने र आफ्नै खर्चमा पासपोर्ट बनाई विदेश पठाउने गरेको अनुसन्धानको क्रममा खुलेको छ। एजेन्टले दुबईलाई ट्रान्जिट पोइन्टका रूपमा प्रयोग गर्दै आएको उनी बताउँछन्।

नेपालबाट कुवेतलगायत मुलुकमा जानका लागि शुरुमा दुबई नै पुर्‍याइन्छ। दुबईमा यताको एजेन्टको नेटवर्क हुन्छ। नेपालबाट पठाइएका महिलाहरूलाई रिसिभ गर्न एजेन्टहरूको अर्को टोली एयरपोर्टसम्मै पुग्छ। दुबईमा रहेका एजेन्टहरू नेपाली, भारतीय, श्रीलंकन र बंगलादेशी नागरिक हुने गरे पनि धेरैजसो नेपाली र श्रीलंकन नै हुने गरेको एसपी मिश्र बताउँछन्।

दुबईमा रहेका एजेन्टहरूले नेपालबाट भिजिट भिसामा आएका महिलाहरूलाई कुवेतलगायत मुलुकमा पुर्‍याउने प्रक्रिया अगाडि बढाउँछन्। प्रक्रिया पूरा नहुँदासम्म उनीहरूलाई भाडाकै फ्ल्याटमा राखिन्छ। प्रक्रिया पूरा भएपछि भिजिट भिसामा आएका नेपाली महिलाहरूलाई कुवेत, इरान, इराक लगायतका देश पुर्‍याई घरेलु काममा लगाइन्छ।

जसवापतत एजेन्टले साहुबाट मोटो रकम असुल गर्छन्। एजेन्ट र साहुको लेनदेनमा फसेका महिलाहरूले साहुले अह्राएअनुसारको काम गर्नुपर्छ। कतिपय अवस्थामा साहुबाटै महिला यौन शोषणमा पनि पर्छन् भने कति साहुले बन्धक बनाई जबर्जस्ती वेश्यावृत्तिमा समेत लगाउने गरेको एसपी मिश्रको भनाइ छ।

उनका अनुसार कतिपय अवस्थामा साहु आफैंले पीडितको परिवारलाई फोन गरेर मान्छे फिर्ता लिने हो भने खातामा यति रकम जम्मा गरिदिनु भन्छन्। रकम जम्मा गर्न नसक्ने परिवारका महिलाहरू भागेर दूतावासको शरणमा गएका थुप्रै घटना छन्। त्यस्तो अवस्थामा दुतावासको सहयोगमा पनि केही महिला नेपाल फर्कन सफल भएका छन्।

नेपालबाट वैदेशिक रोजगारीका लागि भन्दै भिजिट भिसामा जाने धेरैजसो महिलाहरूलाई आफू भिजिट भिसाको बहानामा घरेलु काममा जाँदै छु भन्‍ने ज्ञान हुन्छ। उता पुगी समस्यामा परेपछि बल्ल पछुतो मान्‍ने गरेको एसपी मिश्र बताउँछन्। भन्छन््, ‘भिजिट भिसाको बहाना बनाई घरेलु कामको लागि विदेशिएका महिलाका हकमा त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा कडाइ हुने भएकाले भारतको बाटो हुँदै दुबई जाने र दुबईबाट कुवेत जाने गरेको पाइन्छ।’

उनका अनुसार भिजिट भिसामा नेपालबाट विदेशिने महिलाहरूमा बढी विवाहित छन् भने केही मात्रामा अविवाहित पनि। आर्थिक अवस्था कमजोर भएका, अर्काको काम नगरी खान नपु्ग्‍ने, सम्बन्ध विच्छेद भइसकेका, सामान्य लेखपढ गर्न जान्‍ने महिलाहरूलाई नै एजेन्टहरूले टार्गेट बनाउने गरेको भेटिन्छ। त्यसमा पनि तराईको पिछडिएको क्षेत्र, पहाडको हकमा दलित, जनजाति समुदायका महिलाहरू बढी हुने गरेका छन्।

भिजिट भिसा भनी वैदेशिक रोजगारको लागि दुबई हुँदै एजेन्टमार्फत कुवेत पुगेका केही महिलाले उता गइसकेपछि राम्रो कमाइ पनि गरेका छन्। उनीहरूले राम्रो कमाइ गरिरहेको कुुरा थाहा पाएका गाउँका अन्य महिलाहरू पनि देखासिखीकै कारण आफू समस्यामा पर्न सक्छु भन्‍ने हेक्का नै नगरी विदेशिने गरेको एसपी मिश्र बताउँछन्। भन्छन्, ‘नेपालमा कुनै अवसर नपाएका महिलाहरू अवसरको खोजीमा उच्चस्तरको जीवनशैली जिउने इच्छाकै कारण पछिल्लो केही वर्षयता भिजिट भिसामा घरेलु काममा जाने गरेको पाइएको छ।’

के छ कानूनमा ?

‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४’ अनुसार कुनै पनि व्यक्तिलाई किन्‍ने वा बेच्‍ने, कसैलाई उसको इच्छा वा इच्छाविपरीत वेश्यावृत्तिमा लगाउने, कुनै पनि व्यक्तिको गैरकानूनी रूपमा अंगहरू निकाल्ने र वेश्यागमन गर्नेलाई मानव बेचविखन भनिएको छ। ओसारपसारको हकमा यी कुरा गर्नलाई एक ठाउँबाट अर्कोमा लैजाने, यौन शोषण गर्ने, दास बनाउनेजस्ता विषयलाई ओसारपसार भनिन्छ।

श्रम स्वीकृति लिएर विदेशमा बिचल्लीमा पार्नु मानव बेचबिखन होइन। तर, त्यस्ता व्यक्तिहरूलाई एक ठाउँबाट अर्कोमा पुर्‍याई किनबेच, यौनशोषण भए त्यसलाई मानव बेचबिखन भनिने एसपी मिश्र बताउँछन्।

यताबाट एजेन्टले आफ्नै खर्चमा भिजिट भिसामा निःशुल्क विदेश पठाउने गरे पनि उता पुगेपछि महिलालाई काममा लगाइदिएवापत साहुबाट मोटो रकम असुल गर्ने गरेको पाइन्छ। जुन सोझै मानव बेचबिखनभित्र पर्ने उनको भनाइ छ। भन्छन्, ‘घरेलु काममा भनी गएका धेरै महिलाहरू साहुद्वारा यौन शोषण र बन्धक बनाई वेश्यावृत्तिमा लगाइन्छन्।’

कानूनमा मानिसको किन्‍ने-बेच्‍ने दुवैलाई २० वर्षको कैद सजाय छ भने वेश्यावृत्तिमा लगाउने पीडकलाई १० देखि १५ वर्षसम्मको कैद सजाय तोकिएको छ।

यस्तै, मानव तस्करी गर्नेलाई ७ देखि १२ वर्षसम्मको सजाय छ। मानव बेचबिखन मुद्दामा अदालतले सकभर पूर्पक्षमा थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिने गरेकाले सहज हुने गरेको उनी बताउँछन्।

पीडितको उद्धार कसरी गर्छ ब्युरोले ?

भिजिट भिसामा घरेलु काममा कुवेत, इरान, इराकलगायत देशहरूमा पुगेका महिलाहरू त्यहाँ समस्यामा परेपछि आफ्नो परिवारलाई जानकारी गराउँछन््। त्यसपछि पीडितको परिवार मानव बेचविखन ब्युरोमा आइपुग्छन्। परिवारले दिएको निवेदनको आधारमा ब्युरोले पीडित को हो ? कति नम्बर पासपोर्ट वाला हो, कुन मितिमा गएको र अहिले कता छ ? र, पीडक को हो भन्‍ने कुराको जानकारी लिन्छ।

त्यसपछि उद्धारको लागि ब्युरोले सीआईबी हुँदै, केन्द्रीय प्रहरी कार्यालय र परराष्‍ट्र मन्त्रालयमा जानकारी गराउँछ। परराष्‍ट्र मन्त्रालयको काम दूतावासमार्फत समन्वय गर्ने हुन्छ। त्यसै समयमा ब्युरोले एजेन्टको खोजतलास गरी नियन्त्रणमा लिई पीडितलाई नेपाल फर्काउने प्रक्रिया अघि बढाउँछ।

अहिलेका एजेन्टहरू प्रविधि मैत्री भइसकेका छन्। उनीहरूको खोजतलासी गर्न सहज छैन। विदेशमा बसेर ह्वाट्सएपमा कुरा गरेर भिजिट भिसामा विदेश पठाउने चाँजोपाँजो मिलाउनमा उनीहरू माहिर भइसकेको एसपी मिश्र बताउँछन्। भन्छन्, ‘एजेन्ट फेला परेको अवस्थामा एजेन्टले नै साहुले भनेजति रकम तिरेर पीडितलाई स्वदेश फर्काइन्छ। एजेन्ट फेला नपरेको अवस्थामा पीडितको परिवारले नै साहुको खातामा भने अनुसारको रकम हालेर स्वदेश फिर्ता गर्ने प्रक्रिया अगाडि बढाइन्छ।’

पीडित नेपाल फर्केपछि उसले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता गर्ने गरिएको उनको भनाइ छ।

भारतमा लगेर बन्धक बनाएका वा बेचिएका महिलाहरूको हकमा भने माइती नेपाल, आफन्त नेपाल, किङ नेपाललगायत थुप्रै संघसंस्था तथा दूतावासको सहयोगमा उद्धार गर्ने गरिएको उनी बताउँछन्।

जनचेतना आवश्यक

भिजिट भिसामा विदेशिने महिलाहरू विदेशी मुलुकमा के कस्तो समस्यामा पर्ने गर्छन् भन्‍ने पर्याप्त जानकारीको अभावका कारण मानव बेचबिखनका मुद्दा बढ्दै गएको अनुमान लाउन गाह्रो छैन।

प्रहरीले भने यससम्बन्धी जनचेतना जगाउनग भरसक प्रयास गर्दै आएको दाबी गरेको छ। प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत हरेक वडामा समन्वय गरिरहेको बताउँदै मिश्र भन्छन्, ‘जिल्लामा रहेका प्रहरी युनिटहरूले वैदेशिक रोजगार भन्दै ठगी अथवा बेचबिखन भइरहेको छ भनी स्कुल, आमा समूह, युवा समूहमा कार्यक्रम, र्‍याली र पढाउने काम गर्दै आएको छ।’

वैदेशिक बेचविखन बढ्दै गएकाले ब्युरोले यस्ता कार्यक्रमका लागि प्रहरी युनिटलाई अनुरोध गर्दै आएको छ भने साझेदारीअन्तर्गत विभिन्‍न ठाउँमा गएर कक्षाहरू दिने काम अहिले पनि भइरहेको छ। यस्तै, जनचेतना फैलाउने खालका अडियो, भिडियो सामग्री पनि ब्युरोले प्रसारण गर्दै आएको एसपी मिश्र बताउँछन्।

उनका अनुसार अहिले विशेष गरेर प्रदेश तथा स्थानीय तहहरूले नागरिक सचेतना कक्षा दिनका लागि आफैंले ब्युरोसँग समन्वय गर्न थालेका छन्।

०००

ब्युरोले पाँच वर्षमा वैदेशिक रोजगारको प्रलोभनमा पारी मानव बेचबिखन गरेको भन्दै २७४ मुद्दा चलाएको छ। आव ०७६-७७ मा ब्युरो स्थापना भएसँगै वैदेशिक रोजगार भन्दै बेचबिखन गरिएका ३६ मुद्दा ब्युरोले चलाएको थियो। जसमा ६१ जना पीडित, ९३ जना अभियुक्त थिए। अभियुक्तमध्ये त्यस वर्ष ३० जना पक्राउ परेका थिए भने ६३ जना फरार थिए।

यस्तै, आव ०७७-८८ मा वैदेशिक रोजगार भन्दै मानव बेचविखन गरेको आरोपमा ब्युरोले १२० मुद्दा चलाएको थियो। जसमा १५१ जना पीडित थिए भने २५८ जना अभियुक्त। अभियुक्तमध्ये ४८ जनालाई ब्युरोले पक्राउ गरेको थियो भने २१० जना फरार छन्।

आव ०७८-७९ मा २४ वटा मुद्दा दर्ता भएका थिए। जसमा ३० जना पीडित थिए भने ८८ जना अभियुक्त। त्यस वर्ष ब्युरोले अभियुक्तमध्ये ४६ जनालाई पक्राउ गरेको थियो भने ४२ जना फरार थिए।

आव ०७९-८० मा ४३ मुद्दा दर्ता भएका थिए। जसमा ५६ पीडित थिए भने ११६ जना अभियुक्त। पीडितले दिएको जाहेरको आधारमा ठहर भएका अभियुक्तमध्ये ५० जनालाई ब्युरोले पक्राउ गरेको थियो भने ६६ जना फरार थिए।

यस्तै, चालु आव ०८०-८१ को १६ वैशाखसम्म यसैसम्बन्धी ब्युरोमा दर्ता भएका मुद्दाको संख्यालाई केलाउने हो भने हालसम्म ब्युरोमा ५१ वटा मुद्दा दर्ता भएका छन्। जसमा ५५ पीडित र १०८ अभियुक्त छन्। जसमध्ये हालसम्म ५१ जनालाई ब्युरोले नियन्त्रणमा लिइसकेको छ भने बाँकी ५७ जना फरार छन्।

यस्तै, वैदेशिक रोजगारीको नाममा एजेन्टमार्फत भिजिट भिसामा बेचबिखनमा परेका पीडितमध्ये ६७३ जनालाई उद्धार गरिएको छ। जसमा सबैभन्दा बढी छिमेकी देश भारतबाट ३४२, कुवेतबाट १०१, ओमनबाट ४२, श्रीलंकाबाट २९, लिबियाबाट २८, म्यानमारबाट २८, इराकबाट २५, दुबईबाट २४, केन्याबाट १२, इन्डोनेसियाबाट १०, मलावीबाट ९, किर्गिस्तानबाट ६, लाओसबाट ५, थाइल्यान्डबाट ५, ग्रिसबाट ४, चीनबाट २, सिरियाबाट २ र ब्रुनाईबाट २ जनालाई उद्धार गरिएको थियो। कम्बोडिया, जोर्डन, मलेसिया, कतार, माल्दिभ्स र मौरिससबाट १-१ जनालाई उद्धार गरेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *