शुक्रबार मध्यरातमा भुकम्प जाँदा गोरखबहादुर सिंहको परिवार खलंगामा मस्त निद्रामा थियो । भुकम्पले घर भत्किँदा उनले दुई छोरी र एक आफन्त गुमाए । उनी आफै, जेठी छोरी र श्रीमती पनि घाइते छन् । सिंह दम्पतिको जिल्ला अस्पताल जाजरकोटमा र छोरीको नेपालगञ्जमा उपचार भइरहेको गोरखका भाइ सुरेन्द्र सुमन सिंहले बताए ।
सिंहकी माइली छोरी २१ वर्षीया उपासना सिंह अस्ट्रेलिया जाने तयारीमा थिइन्। सम्पूर्ण प्रक्रिया सकेर भिसाको प्रतीक्षामा थिइन् । कान्छी छोरी १८ वर्षीया उर्जा प्लस टु सकेर एमबीबीएसको तयारी गर्दैथिइन् । उनीहरुसँगै बितेकी २५ बर्षीया मेलिना इन्जिनियरिङ पढ्दैथिइन् । मृतक तीनै जनाको शनिबार नै अन्त्येष्टि गरिएको छ ।
तीन छोरी, एक आफन्तकी छोरी र श्रीमतीसहित उनी खलंगामा बस्दैआएका थिए । उनको परिवार बसेको घर भुकम्पमा भत्किँदा उनीहरु भव्नावशेषमा पुरिए । रातको समय भएकाले उनीहरुको तत्कालै उद्दार हुन सकेन । चार घण्टापछि उद्दार हुँदा चार जनाको मृत्यु भइसकेको थियो ।
घटनाका बेला सुरेन्द्र बारेकोट गाउँपालिकामा थिए । शुक्रबार रातीको सो भुकम्पको केन्द्रबिन्दु बारेकोटकै लामीडाँडा मानिएको छ । घाइते गोरखको अवस्था खतरामुक्त भए पनि सन्तानविगोगले सिंह परिवार विक्षिप्त भएको छ । समयमै उद्दार र उपचार हुन सकेको भए भतिजीहरुलाई बचाउन सकिन्थ्यो भन्ने सुरेन्द्रलाई लागेको छ । ‘समयमै उद्धार हुन नसक्दा हाम्रो परिवारले यति ठूलो शोकको सामना गर्नुपरेको छ’, उनले भने । -शिलापत्रबाट