काठमाडौं । नाइजेरिया र साउदी अरबमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । योसँगै हालसम्म २२ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ ।
एसियामा जापानसहित इजरायल, दक्षिण कोरिया, साउदी अरब र हङकङमा ओमिक्रोन फेला परेको छ ।
त्यस्तै, अष्ट्रेलियामा ओमिक्रोन संक्रमितको संख्या ६ पुगेको अधिकारीहरूले बताएका छन् । यसमध्ये ५ जना न्यू साउथ वेल्सका र १ जना नर्दन टेरिटरीका रहेका छन् ।
नयाँ भेरियन्ट फैलिएका मुलुकमध्ये युरोपमा मात्रै १२ वटा छन् । युरोपमा बेलायतसहित अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इटली, पोर्चुगल, स्पेन र स्विडेनमा ओमिक्रोन फेला परेको सीएनएनले जनाएको छ ।
बेलायतमा मात्रै ओमिक्रोन संक्रमितको संख्या २२ पुगेको छ ।
क्यानाडामा समेत ३ जनामा ओमिक्रोन पुष्टि भएको छ ।
सुरुमा पहिचान भएको दक्षिण अफ्रिकामा ओमिक्रोनका संक्रमित ७७ पुगेका छन् भने बोत्स्वानामा १९ जनालाई यो भेरियन्टले संक्रमण गरेको छ ।