दिपेन्द्र लुईटेल भोजपुर । भोजपुरको स्थानिय रङ्गशालामा जारी आठौं अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)ले सलहेश फुटबल क्लव सिरहालाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
दोश्रो हाफको दुई मिनेटमा एपीएफका लागि पेनाल्टीमा जर्सी नम्बर ७७ का प्रदिप लामाले गरेको गोल नै निर्णायक बन्यो । सलहेश फुटबल क्लव सिरहाले निर्धारित समयमा कुनै पनि गोल गर्न सकेन ।
करिव ४९ लाखको लागतमा छिमेकि राष्ट्र भारत सहित ८ टिमले सहभागी जनाएका छन ।
जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा संचालन हुदै आएको प्रतियोगितामा विजेता तथा उपविजेताले उपाधि सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् । अन्य बिधातर्फ समेत पुरुषकार रहेको आयोजक भोजपुर फुटबल संघका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो ।