दिपेन्द्र लुइँटेल भोजपुर पालिका सन्देश सम्बादाता । भोजपुरमा २ करोड ८० लाख लागत लगाएर निर्माण गरिएको सघन उपचार कक्ष आइसियु सञ्चालनमा आउन सकेको छैन । आइसियु कक्ष निर्माण सङ्गै आवश्यक पर्ने उपकरण जडान भैसकेको भए पनि आवश्यक दक्ष जनशक्तिको अभावमा सेवा सञ्चालन हुन नसक्दा सेवाग्राहिले सेवा लिन सकेका छैनन।
अस्पताललाई सुबिधा सम्पन्न बनाउदै आकस्मिक रुपमा हुने घटना सुत्केरी र अन्य बिरामीलाई उपचारमा सहज बनाउने उदेश्यका साथ जिल्ला अस्पतालमा सघन उपचार कक्ष ४ शैयाको भेन्टिलेटर सहितको आइसियु कक्ष तयारी अबस्थामा छ ।
अस्पतालमा आइसियु सञ्चालनका लागि एनएस थेसिया चिकित्सक सहित १० जना जनशक्तिको आवस्यकता छ । भौतिक रुपमा सुबिधा सम्पन्न हुँदै गए पनि आवश्यक जनशक्तिको अभावका कारण समय र पैसा खर्च गरेर सुबिधा सम्पन्न ठाउँमा जानुपर्ने बाध्यता छ । जिल्लामा उपचार हुन नसके पछि रेफर गरिएका कतिपय बिरामीको बाटोमानै ज्यान जाने गरेको छ ।
५० शैयाको अस्पतालको क्षमता भए पनि दरबन्दीको अभावले दैनिक उपचार सेवा प्रभावित हुने गरेको छ ।



















