काठमाडौं – नेपालमै उत्पत्ति र विकास भएको उच्च हिमाली भेगको सुरक्षाकर्मी तथा पशुरक्षक भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको छ।
अन्तर्राष्ट्रिय केनेल क्लब (आईकेसी) ले भोटे कुकुरलाई आधिकारिक रूपमा कुकुर जातिका रूपमा मान्यता दिएको छ। यो मान्यता प्रदान गर्ने आईकेसी पहिलो अन्तर्राष्ट्रिय संस्था बनेको छ।
भोटे कुकुर क्लब अफ नेपालका विजय पौडेलका अनुसार, आईकेसीबाट आधिकारिक मान्यता पाएपछि अब वर्ल्ड केनेल युनियन, फेडेरेसन साइनोलोजिक इन्टरनेसनललगायत अन्य अन्तर्राष्ट्रिय केनेल क्लबहरूबाट समेत मान्यता दिलाउने प्रक्रिया अगाडि बढाइएको छ।
नेपालमा पाइने भोटे कुकुर तिब्बती म्यास्टिफसँग देखिन मिल्दोजुल्दो भए पनि यी दुई फरक प्रजातिका छन्। नेपालमै यसको मौलिक पहिचान स्थापित गर्न २०७९ सालमा भोटे कुकुर क्लब अफ नेपाल स्थापना गरिएको थियो।
उच्च हिमाली भेगका बस्ती, गोठ र स्थानीय अर्थतन्त्रको सुरक्षाका लागि भोटे कुकुर महत्त्वपूर्ण मानिन्छ। “यदि घरमा भोटे कुकुर भएन भने गोठमा काम गर्ने मान्छे हुँदैन, गोठाला नहुँदा बाघले चौपाया खाइदिन्छ,” स्थानीयको भनाइ उद्धृत गर्दै पौडेलले बताए। त्यसैले भोटे कुकुरबिना हिमाली जनजीवन कष्टकर हुने उनको भनाइ छ।
हाल भोटे कुकुर काठमाडौं लगायत शहरी क्षेत्र हुँदै तराई र पहाडी भूभागमा पनि पाल्ने प्रचलन बढ्दो छ। भोटे कुकुरको मूल्य प्रतिछाउरा ४० हजार रुपैयाँसम्म र छाउरी ३० हजार रुपैयाँसम्म पर्ने बताइएको छ।