जाजरकोटमा जीप दुर्घटना हुँदा दूधे बालकसहित पाँच जनाको मृत्यु भएको छ । बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जीप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ बर्षीय जीप चालक ईन्द्रजित थापा, ६५ बर्षीया शिला पुन, ३३ बर्षीया शारदा थापा, १७ बर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनास्थलमा पुगेको टोलीले पौने ३ बजे दल्लीस्थित नगर अस्पतालमा दुर्घटनाका घाईतेहरुलाई ल्याएको थियो । अस्पतालले पाँच जनालाई मृत घोषणा गरेको जिप्रका जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । नलगाड नगरपालिका–३ का १९ बर्षीय जनक थापा र २१ बर्षका जीवन विक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये जनक थापाको उपचार भइरहेको छ भने जीवन विक सामान्य उपचारपछि घर फर्किएका डिएसपी पाण्डेले जानकारी दिएका छन् । डबल क्याप बोलेरो जीप ब्रेक फेल भएपछि सडकबाट करिब ८०० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा सात जना सवार थिए ।