बिर्तामोड, चैत ९ – झापाको बिर्तामोड–४, एक किलोमिटर क्षेत्रमा मनकामना हार्डवेयर सञ्चालन गर्दै आएका व्यवसायी विक्की रौनियार करोडौँ रुपैयाँ ठगी गरी फरार भएका छन्।
लगभग दस दिनअघि घरमा ताला लगाएर सपरिवार बेपत्ता भएका रौनियारले विभिन्न व्यक्तिहरूबाट ठूलो रकम असुली गरिसकेको पीडितहरूको भनाइ छ। उनका हार्डवेयर व्यवसाय सञ्चालन गरिएको घरजग्गा बैंक लिलामी गर्न लागेको जनाइएको छ।
रौनियारले ठगी गरेको बताउँदै गरामनीकी मनिषा शेखले आफूले ३ लाख १५ हजार रुपैयाँ गुमाएको तथा आफ्नो भिनाजु वासिफ शेखको २ लाख ८५ हजार रुपैयाँ पनि ठगिएको जानकारी दिइन्। उनका अनुसार, धेरैजना पीडित भइसकेका छन्, जसको कुल रकम करोडौँमा पुग्छ।
पीडितहरूले सामाजिक सञ्जालमार्फत घटनाको खुलासा गरे पनि अहिलेसम्म प्रहरीमा औपचारिक उजुरी नपरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए। यसैबीच, ठगीमा परेका केही व्यक्तिहरू केही दिनअघि रौनियारको खाली घरमा तोडफोड गर्न पुगेका थिए, जसलाई प्रहरीले रोक्नुपरेको विष्टले जानकारी दिए।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले रौनियार फरार भएको खबर आफूले सुनेको भए पनि कति व्यक्तिले कति रकम गुमाएका छन् भन्ने विस्तृत विवरण उपलब्ध नभएको बताए।
बिर्तामोडमा पछिल्लो समय ठगीका घटनाहरू बढ्दै गएका छन्।
- बजाज अटो र स्कोडा कारको डिलर खोलेका हलेसी ट्रेडलिंकका सञ्चालक चूडामणि पौडेल करोडौँ रकम ठगी गरी गत साउन २० गतेदेखि बेपत्ता भएका छन्।
- करिब दुई अर्ब रुपैयाँ ठगी गरी नरेन्द्र मैनाली महिनौँदेखि फरार छन्। उनी काठमाडौँमा लुकेको आशंका गरिएको छ।
- ग्लोबल बुक्स एन्ड स्टेसनरी सञ्चालन गर्दै आएका नरेश शर्मा र हेयर एन्ड डर्मा केयर अस्पतालका सञ्चालक मनोराम चिमरिया करोडौँ रकम अपचलन गरेर भागेको आरोप लागेको छ।
- बिर्तामोड–२, चैतुबारी बजारमा पूजा सामग्री व्यवसाय सञ्चालन गर्दै आएका ३३ वर्षीय घनश्याम पौडेल करोडौँ ठगी गरेर करिब एक वर्षदेखि सम्पर्कविहीन छन्।
- बिर्तामोड–५ मा व्यवसाय सञ्चालन गरेका पंकज अग्रवाल र बिर्तामोड–४ का व्यवसायी अनिल अग्रवाल (रिंकु) पनि विभिन्न सहकारी, व्यवसायी तथा आफन्तको १० करोडभन्दा बढी रकम ठगी गरी वर्षौँदेखि बेपत्ता भएका छन्।
बिर्तामोडलगायतका क्षेत्रहरूमा यस्ता ठगीका घटनाहरू दोहोरिनु गम्भीर विषय भएको भन्दै स्थानीय व्यवसायीहरूले ठोस अनुसन्धान र कारबाहीको माग गरेका छन्।




















One Response
म लगायत धेरै जनाको पैसा अपचलन गरि बिर्तामोड बस पार्कमा संचालन गर्दै आएको सौगात रिकन्डिशनका संचालक गणेश कार्की पनि करोडौं ठगी गरि सम्पर्क बिहिन भएको छ ।