•चन्द्र भण्डारी
भोटको मिति नजिक नजिक आउँदैछ
यो दिनको खोजीमा
पार्टी स्वतन्त्रताको पक्षधर
मेरो सिंगो परिवार लड्यो
जेल गयो,नेलले बाँधियो
मूलुकका एघारवटा जेल म्यादी घर भए
यातनाको त म बर्णन नै गर्न सक्तिन
टट्टी खानामा डुबाइयो
सिस्नुपानीको थेरापी त कति हो कति
दाँत झारिए, नङ झिकिए,सिया रोपिए
गुदद्वारमा खोर्सानी पानी कोचिए
टाउका फुटे करङ भाँचिए रगतका फाल्सा बगे
जब जब आकाश गड्याङ गुडुङ्ग गर्नथाल्छ
शरीर दुख्न र पोल्न थाल्छ
तर,
पश्चाताप रत्तिभर छैन ।
गुनासो पटक्कै होइन,कुण्ठा बोलेको होइन
एउटा कुरा साँचो हो
हाम्रा दलहरुमा गंगटा छेपारा र चमेराले
बलियो गुँड लगाए,
गणतन्त्रको सिकार खेले
गंगटा र चमेराको संगतले
न त चमेरो भैयो न त गँगटो नै
न त कुनै आसन रोजियो
न त ताकियो कसैको गद्धी
न त त्यागियो श्रम
न त रोजियो ऐस आराम
समयले राम त बनायो होला
तर हुन सकिएन हनुमान
हज्जारौं मञ्चमा गाइयो होला गीत
तर गाइएन कसैको भजन
न त स्तुति
न त कसैले बदल्यौं बाटो
न त बेच्यौं आफ्ना आस्था ।
एका देशका कथाका पात्र हाम्रो परिवार
फेरि पनि उपभोक्ताबादको झण्डा उचालेर
देश लुछ्न र लुट्न अग्रसर छैनौं
बाँकी जीवन यहि समाजका लागि
यही देशका लागि
बचेको रगत
देश र जनताकै लागि खर्चेर
बाँच्न आतुर छौं
भाषा साहित्य कला र मौलिक धर्म संस्कृतिको
बिगुल फुकेर जीवन समर्पित छ
आफ्नै माटोको लागि।
भोट हाल्ने दिन नजिकै आउँदा
दुई दुई पटक पराजित
रुखमै जन्मिएको मेरो छोरो
चुनावी मैदानमा कुद्धै छ
पटक पटक पराजित गराइएर पनि
घात प्रतिघात खपेर पनि
उ मुस्कुराई रहन्छ
प्रतिस्पर्धी बिजेतालाई
माला पहिर्याइदिन्छ
अविर टिकाले सजाइदिन्छ
राजनीतिक संस्कृतिको झण्डा
हृदयमा गाडेर फर्फराइरहन्छ
न त कसैलाई गाली गर्छ,न त गराउँछ
सबैलाई मान गर्ने उ
कसैलाई अपमान गर्न जान्दैन
नाच्छ गाउँछ बजाउँछ
चलचित्रमा छ,घण्टौं बोल्छ मनग्य पड्छ र लेख्छ
भनिन्छ,
उ निकट भविष्यको प्रधानमन्त्री हो
रुख रोप्ने र बोक्ने दलको उ रोडम्याप हो
स्कूले जीवनमै जेल भोगेको, हण्डर खेपेको
विश्व परिक्रमा गरिसकेको
उसको र मेरो बैचारिक कित्ता
भिन्न भिन्न भए पनि
दार्शनिक चेत र चेतना
आकाश पाताल भए पनि
उसको जीवन शैली
मलाई असाध्यै मनपर्छ ।