Search
Close this search box.
Search
Close this search box.

मनसुन भित्रिएको २५ दिन : ४५ जनाको मृत्यु, ८ करोडभन्दा बढीको क्षति

काठमाडौँ : नेपालमा गत जेठ २८ गते यो वर्षको मनसुन भित्रिएको थियो। नेपालको पूर्वी क्षेत्र हुँदै अहिले मनसुन देशभरि सक्रिय छ। 

मनसुन आएपछिका २५ दिनमा ४५ जनाको मृत्यु भएको र ८ करोडभन्दा बढीको क्षति भएको छ।

EPIC EPIC

आउने आइतवारसम्म अत्यधिक पानी पर्ने भएकाले सावधानी अपनाउन र सतर्क रहन विज्ञहरुले आग्रह गरेका छन्।

आगामी दिनमा सीमित भूभागमा मात्रै वर्षा हुने भएकाले जलवायु तथा मौसम विज्ञान विभागले बढी वर्षा हुने भनेर जोखिम किटान गरेका ठाउँमा विशेष सतर्कता अपनाउनुपर्ने जलवायुविज्ञ डा. धर्म उप्रेतीले बताए। 

उनले साउन, भदौ र असोजमा मुसलधारे वर्षा हुने हुँदा त्यसले निम्त्याउनसक्ने जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारले समयमा नै ध्यान दिनुपर्ने बताए।

मनसुन भित्रिएको २५ दिनमा ८ करोड बढीको क्षति

मुसलधारे वर्षा शुरु हुनुभन्दा अगावै भएको यो क्षतिलाई हेर्दा पनि आगामी ३ महिनाभित्र नेपालमा विपदबाट ठूलो नोक्सानी हुने देखिएको उनले बताए। 

उनले मनसुन भित्रिएको २५ दिनमा ४६ वटा भौतिक संरचनाहरु बाढी र पहिरोका कारण ध्वस्त भएको बताए। यस समयमा २५९ पशुचौपाया मरेका छन् भने ४ सयवटा जलवायुजन्य घटनाहरु (बाढी, पहिरो, डुबान, चट्याङ) भएका छन्।

‘नेपालमा मनसुन शुरु भएको २५ दिन लगभग भयो। जेठको २८ गते नेपालमा मनसुन शुरु भएको थियो‚’ उनले भने, ‘मनसुनले शुरुवाती अवस्थामा नै धेरै ठूलो हानी नोक्सानी गरेको छ।’

विज्ञ उप्रेतीकाअनुसार नेपालमा मनसुन भित्रिएको २५ दिनमा ४५ जनाले ज्यान गुमाएका छन् भने ८ करोड २० लाखभन्दा बढीको हानी नोक्सानी भएको छ। 

‘हिजोसम्मको क्षति विश्लेषण गर्दा लगभग ४७ जनाले ज्यान गुमाएको देखिन्छ। ८ करोड २० लाख बराबरको आर्थिक क्षति पनि यो २५ दिनमा भएको छ‚’ उनले भने‚ ‘६ वटा भौतिक संरचनाहरु पनि बाढी पहिरोले ध्वस्त भएका छन्‚ पशुचौपाया लगभग २५९ वटा मरेका छन्। २५ दिनमा ४ सय वटा जलवायुजन्य (बाढी, पहिरो, डुबान, चट्याङ) का घटना भए।’

आगामी ३ महिनामा अत्यधिक वर्षा हुने

विज्ञ उप्रेतीले असारमा औसतभन्दा कम पानी पर्दा नै क्षति ठूलो भइसकेको भन्दै आगामी ३ महिनामा बेहोर्नुपर्ने क्षतिको भार नेपालले थाम्न गाह्रो पर्ने बताए। 

उनले समयमा नै सरकारले विशेष ध्यान दिन र सतर्कता अपनाउन नसके विपदबाट ठूले क्षति हुने निश्चित रहेको बताए। नदी किनारमा भएका बस्तीहरु, भौतिक संरचना, विद्युतीय संरचना, विद्यालय, खानेपानी, कृषि सबैमा विपदको प्रभाव बढेको उनले बताए। 

‘यो महिना औसतभन्दा कम पानी परेको छ। औसतभन्दा बढी पानी पर्ने अवस्था अब शुरु भयो। असार १५ देखि असोजसम्म औसतभन्दा बढी पानी पर्छ‚’ उनले भने, ‘पछिल्लो वर्षको क्षति पनि आँकलन गरेर हेर्ने हो भने नदी किनारमा भएका बस्तीहरु, भौतिक संरचनाहरु, विद्युतका संरचना, विद्यालयदेखि लिएर खानेपानी, कृषि सबैमा यसको प्रभाव परेको छ‚ त्यसले हानि नोक्सानी बढेको छ।’

उनले मनसुनको न्यूनचापीय रेखा नेपालमा रहेकाले यो वेला मुसलधारे वर्षा हुने बताए। उनले विपद्पूर्व नै विपद् हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी त्यहाँका बासिन्दालाई सचेत गराउनुपर्ने बताए।

‘मनसुनको पूर्वसन्ध्यामै ८ करोडको क्षति भयो भने बढी वर्षा हुने आउने ३ महिना बढी जोखिमपूर्ण छ। यसले बढी क्षति गर्नेछ। केन्द्र, प्रदेश र स्थानीय सरकार अलर्ट अवस्थामा बस्नुपर्ने हो‚’ उनले भने, ‘कुनै ठाउँमा पहिरो गएर बस्ती नै सार्नुपर्ने अवस्था छ। कुनै ठाउँमा सांस्कृतिक नोक्सान भएको र वनस्पति कति नष्ट भए त्यसको हामीले गणना गरेका छैनौँ। राज्य, सञ्चारमाध्यम, सिभिल सोसाइटी, स्थानीय सरकारले गर्नुपर्ने काम धेरै छन्।’

आइतवारसम्म मुसलधारे पानी पर्ने

विज्ञ उप्रेतीले मनसुनको न्यूनचापीय रेखा नेपालनजिक रहेको र यस समय बढी वर्षा हुने भन्दै आइतवारसम्म सावधानी अपाउन आग्रह गरे। 

उनले पोखरा, काठमाडौँ, सुदूरपश्चिममा दीपायल, कोशी प्रदेशका केही भूभागमा अत्यधिक वर्षा हुने बताए। उनले भू-बनावटले थेग्नेभन्दा बढी वर्षा भएको खण्डमा पहिरो जाने उच्च सम्भावना रहेको बताए।

‘मनसुनको न्यूनचापीय रेखा उत्तरतिर, नेपालको नजिक छ। नेपालनजिक मनसुनको न्यूनचापीय रेखा जब आउँछ, त्यतिवेला नेपालमा बढी पानी पर्छ‚ यो स्वाभाविक हो। आजदेखि आइतवारसम्म नेपालमा औसतभन्दा बढी पानी पर्छ‚’ उनले भने, ‘पोखराको वरपर, सुदूरपश्चिममा दीपायलदेखि त्यो स्थान वरपर, काठमाडौँ वरपर, कोशी प्रदेशका केही भूभागमा आइसोलेटेड हेभी रेनफल हुने धेरै ठूलो वर्षा हुने सम्भावना पनि छ भने केही ठाउँमा मध्यम र केही ठाउँमा हलुका वर्षाको सम्भावना छ।’

फेरियो पानी पर्ने तरिका

विज्ञ उप्रेतीले पछिल्ला केही दिनयता पार्नी पर्ने तरिका पनि परिवर्तन भइरहेको बताए। उनले एकै ठाउँमा मुसलधारे पानी पर्ने र त्यसको असर समुदायमा पर्ने गरेको बताए। 

उनले एकै ठाउँमा धेरै वर्षा हुँदा मानिसहरु डराउने गरेको उल्लेख गरे। आगामी दिनमा पनि सीमित क्षेत्रमा ठूलो र लामो समय पानी पर्ने भएकाले सतर्क रहन आग्रह गरे। 

तराई र शहरी क्षेत्रमा बाढी आउने मात्र नभइ डुबानमा पर्ने सम्भावना रहेको बताए। क्षेत्रलाई निर्धारण गरी सोहीअनुसारको पूर्वसूचना प्रणाली बनाउनसके मानिसहरु सचेत हुने र विपदबाट हुने क्षति न्यूनीकरण गर्न सकिने बताए।

भौतिक संरचना जलवायुमैत्री बनाउनु पर्छ, तत्काल काम रोक्नुपर्छ

निर्माण क्षेत्रले आगामी दिनमा जलवायुमैत्री भौतिक संरचना निर्माण नगर्ने हो भने विपद्को क्षति अझै धेरै बढ्ने विज्ञ उप्रेतीले बताए। 

उनले नदी किनारमा बनाइएका संरचनाहरु जस्तै ऊर्जाको भौतिक संरचना, खानेपानीको भौतिक संरचनाहरु बनाउँदा दीर्घकालीन रुपमा सोचेर बनाउनुपर्ने बताए। 

‘निर्माण क्षेत्रमा भएको क्षति हेर्ने हो भने नदी किनारमा बनाइएका ऊर्जाका, खानेपानीको भौतिक संरचनाहरु बढी छन्। यो भौतिक संरचनाहरु जुन नदी किनारमा हुन्छन्, त्यसको दुई पाटा छन्। एउटा ५ वर्षमा एक पटक आउने बाढी, १० वर्ष वा १५, २०, ५० वा सय वर्षमा जुन बाढीको रिटर्न पिरियड ख्याल गरेर पहिला प्लानिङमा पनि कस्तो खालको जोखिम आउनसक्छ, १० वर्षमा, १५ वर्षमा र २० वर्षमा भन्ने एउटा योजना चाहियो‚’ उनले भने, ‘भौतिक संरचनामा प्रयोग गरिने सिमेन्ट, रडदेखि लिएर जति पनि सरसामानहरु छन्‚ तिनलाई अलिकति बाढीको जोखिम कम हुने क्षेत्रमा राख्नुपर्छ।’

उनले भौतिक संरचनामा प्रयोग गरिने सिमेन्ट, रडहरु बाढीको जोखिम कम हुने क्षेत्रमा राख्नुपर्ने सुझाव दिए। उनले बाढी, पहिरोको जोखिम भएका ठाउँमा तत्काललाई काम रोक्नुपर्ने बताए।

‘कतिपय ठाउँमा जल तथा मौसम विज्ञान विभागको उपकरण राखिएको पनि छ। वार्निङ, बिलो वार्निङ र डेन्जरको जुन अवस्था छ, त्यसलाई हामीले सुन्नुपर्छ। योजना कार्यान्वयन गर्न मेटेरियलको सप्लाई, स्टोरेज र कामको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र त्यो अवधिमा काम रोक्नु फाइदाजनक हुन्छ‚’ उनले भने, ‘त्यो वेला काम गर्दा एक पटक ठूलो क्षति भयो, बाढी आयो भने त्यसले भौतिक संरचनाको मात्र नभइ श्रमजीवीको ज्यान पनि खतरामा पर्छ। त्यसलाई पनि मध्यनजर गरी योजना बनाउनु पर्छ।’

उनले नेपाल र छिमेकी देश भारतले सीमानाकामा बनाउने संरचना जलवायुमैत्री बनाउन आवश्यक रहेको बताए। उनले बाढीको पूर्वसूचना प्रभावकारी बनाउन र स्थानीय, प्रदेश र राष्ट्रिय आपतकालीन केन्द्रलाई प्रभावकारी बनाइ कार्यान्वयन गर्न आवश्यक रहेको बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *