राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारका मन्त्रीहरूबीच कसले धेरै कमाउने भन्ने प्रतिस्पर्धा चलिरहेको आरोप लगाएका छन् । उनले विवादमा परेका मन्त्रीको सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरे ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा अध्यक्ष लिङ्देनले कांग्रेस–एमाले सरकारका मन्त्रीहरूबीच कसले छिटो र धेरै कमाउने भन्ने प्रतिस्पर्धा चलिरहेको आरोप लगाएका हुन् ।
‘कांग्रेस एमालेजस्ता दुई ठूला पार्टी मिलेको सरकारले देश लुट्न टेण्डर पारेजस्तो व्यवहार भइरहेको छ । टेण्डर पारेर यसरी प्रतिस्पर्धा चलिरहेको छ कि, कुन मन्त्रीले छिटो र धेरै कमाउने भन्ने प्रतिस्पर्धा चलिरहेको छ,’ लिङदेनले भने ।
पोखराको लिची बगान खानका लागि वर्तमान र पूर्वमन्त्रीबीच साठगाँठ चलेको उनले आरोप लगाए । ‘टेण्डर हामीले पारेको हो, अरु कराउँदै गर्छन् । वैधानिकता हामीसँग छ, हामी अगाडि बढ्छौं, जसले सक्छ खाने हो भनेर जसरी संसद् अगाडि बढाउने कुरा भइरहेको छ,’ लिङदेनले भने, ‘भिजिट भिसा मात्र होइन, बजार भाउ बढाएर खाने प्रवृत्तिको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन हुनुपर्छ ।’