
भक्तपुर : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राजनीतिक वातावरण अस्थिर बनाउन खोज्नेहरूप्रति सतर्क रहन आवश्यक रहेको बताएका छन्।

नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका दाहालले वर्तमान स्थिर र बलियो सरकारले अस्थिरताको अन्त्य गर्दै देशलाई समृद्धितर्फ अघि बढाइरहेको उल्लेख गरे। उनले भने, ‘देशमा स्थिरता स्थापित हुँदैछ भन्ने देखेर आत्तिएका व्यक्तिहरूले राजनीतिक माहोल अस्थिर पार्न प्रयास गर्न सक्छन्, तर जनताले तिनलाई पहिल्यै चिनेका छन्। अब पनि कसैले देशमा अस्थिरता ल्याउने प्रयास गरे, त्यो सम्भव हुनेछैन।’

शनिबार नेकपा एमाले झापा-काठमाडौँ सम्पर्क मञ्चद्वारा भक्तपुरको लिखानारायणमा आयोजित वनभोज कार्यक्रममा बोल्दै मन्त्री दाहालले आगामी निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्ति बनाउन कार्यकर्ताहरूलाई सक्रिय हुन आग्रह गरे। उनले एमाले पहिलो शक्ति भए मात्र देशको समृद्धि सहज रूपमा सम्भव हुने भन्दै आगामी निर्वाचनबाट एमालेको बहुमतसहितको पहिलो सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको बताए। कार्यक्रममा एमाले सचेतक सुनिता बराल, संघीय सांसद लालप्रसाद साँवा, प्रदेश सभा सदस्य छबि चुडाल लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको मञ्चका सचिव मनोज दाहालले जानकारी दिए।
