धरान । सुनसरी–१ बाट प्रतिनिधिसभामा निर्वाचित श्रम संस्कृति पार्टीका सर्वोच्च नेता तथा धरानका पूर्व मेयर हर्क साम्पाङ्गले प्रधानमन्त्रीदेखि मन्त्री र सांसदसम्म सबैको दैनिक रूपमा मादक पदार्थ (मापसे) र लागू पदार्थ (लापसे) सेवन परीक्षण गर्नुपर्ने माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देशको समग्र स्वास्थ्य, सुशासन र जिम्मेवार नेतृत्वका लागि यस्तो व्यवस्था अनिवार्य हुनुपर्ने बताएका हुन्। उनले राज्य सञ्चालनमा रहेका व्यक्तिहरू पूर्ण रूपमा सचेत, अनुशासित र जनउत्तरदायी हुन आवश्यक रहेको उल्लेख गरे।
उनका अनुसार, उच्च पदमा बसेका व्यक्तिहरूको व्यवहारले प्रत्यक्ष रूपमा राष्ट्रको दिशा निर्धारण गर्ने भएकाले उनीहरूको नियमित स्वास्थ्य र आचरण परीक्षणले पारदर्शिता र विश्वास बढाउने विश्वास व्यक्त गरेका छन्।
साम्पाङ्गको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा समर्थन र आलोचना दुवै देखिएको छ। केहीले यसलाई सुशासनतर्फको साहसी प्रस्तावका रूपमा लिएका छन् भने केहीले व्यवहारिकता र कार्यान्वयन पक्षमा प्रश्न उठाएका छन्।
सरकारको तर्फबाट यस विषयमा औपचारिक प्रतिक्रिया भने आएको छैन।



















