काठमाडौं । मलेसिया सरकारले सबै क्षेत्रमा विदेशी कामदारका लागि भित्रिने प्रक्रिया खुलाएको छ । शुक्रबार बसेको मलेसियाको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण १८ मार्च २०२० देखि बन्द रहेको भिसा प्रक्रिया खुलाउने निर्णय गरेको हो ।
मलेसियाली अनलाइन द स्टारका अनुसार मन्त्रिपरिषद्को यो निर्णयसँगै मलेसियाले करिब दुई वर्षपछि विदेशी कामदार रोजगारीका लिन थाल्ने भएको हो ।
शुक्रबार भएको नयाँ निर्णयअनुसार उत्पादन, सेवाक्षेत्र, कृषि, प्लान्टेसन र घरेलु कामदारको नयाँ भर्ना खुलाएको उक्त अनलाइनले उल्लेख गरेको छ ।
मलेसियाले यसअघि पहिलो चरणमा रवर र पाम उद्योगमा मात्रै नयाँ विदेशी कामदार लैजान पाउने नीति लिएको थियो । तर, श्रम बजारमा कामदारको अभाव भएपछि सन् २०२२ को सुरुदेखि नै सबै क्षेत्रका कामदार लिने भएको हो ।
मलेसियाले शुक्रबारदेखि ई–भिसा अनलाइन प्रणालीको सुरुवात गरेको छ । मलेसिया जाने विदेशी पर्यटक, विदेशी विद्यार्थी, विदेशी व्यापारी र स्वास्थ्य उपचारका लागि जाने बिरामीका लागि ई–भिसा प्रणालीले सजिलो हुने र केही समयपछि विदेशी कामदार लैजान पनि उक्त प्रणालीले सहयोग पुर्याउने मलेसियाको अध्यागमन विभागका महानिर्देशक दातुक इन्देरा खैरुल जैमी दाउदले बताएका छन् ।