प्रयागराज । महाकुम्भमा ३३ दिनभित्र ५० करोडभन्दा बढी भक्तजनले स्नान गरिसकेका छन्। ४५ दिनसम्म सञ्चालन हुने महाकुम्भ सकिन अझै ११ दिन बाँकी रहे पनि यसले इतिहासमै सबैभन्दा ठूलो धार्मिक भेलाको रेकर्ड कायम गरिसकेको छ।
भारतीय समाचार माध्यमहरूका अनुसार यो संख्याले अमेरिका र चीनको कुल जनसङ्ख्या पछि तेस्रो स्थान ओगटेको छ।
ब्राजिलको प्रसिद्ध रियो कार्निवल र जर्मनीको अक्टोबर फेस्ट जस्ता अन्तर्राष्ट्रिय उत्सवहरूको तुलनामा महाकुम्भको भीड निकै विशाल देखिएको छ। फेब्रुअरी ९ बाट सुरु भई १७ फेब्रुअरीसम्म चल्ने रियो कार्निवलमा दैनिक करिब २० लाख मानिस सहभागी हुने गर्छन्। त्यस्तै, १६ दिनसम्म चल्ने जर्मनीको अक्टोबर फेस्टमा करिब ७० लाख मानिसको उपस्थिति रहने रेकर्ड छ।
तर, महाकुम्भमा ३३ दिनमै ५० करोडभन्दा बढी भक्तजन स्नान गरिसकेका छन्, जसले यसलाई हालसम्मकै सबैभन्दा ठूलो धार्मिक आयोजनाको रूपमा स्थापित गरेको छ।
शनिबार र आइतबार अझै ठूलो भीड बढ्ने अनुमान गरिएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लखनउमा उच्चस्तरीय बैठक गर्दै वरिष्ठ अधिकारीहरूलाई स्वयं सडकमा खटिन निर्देशन दिएका छन्। उनले प्रयागराज जाने बाटोमा कतै जाम नहुने प्रतिबद्धता जनाउँदै भने, “भक्तजनलाई कुनै समस्या नहोस्। यदि जाम भयो भने सम्बन्धित पदाधिकारीहरू जवाफदेही हुनेछन्।”
यसैबीच, कांग्रेस सांसद राहुल गान्धी र प्रियंका गान्धी फेब्रुअरी १६ मा महाकुम्भमा स्नान गर्ने तयारीमा छन्। कांग्रेस स्रोतका अनुसार उनीहरूको आगमन कार्यक्रम लगभग तय भइसकेको छ, र अन्तिम तयारी भइरहेको छ।