काठमाडौं। भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलाबाट फर्किंदै गर्दा भएको सवारी दुर्घटनामा तीन नेपाली तीर्थयात्रीले ज्यान गुमाएका छन्।
रुपन्देहीको देवदह नगरपालिकाका पूर्व मेयर हिराबहादुर खत्रीको नेतृत्वमा ३५ जनाको समूह शुक्रबार कुम्भ मेलाका लागि प्रस्थान गरेको थियो। मेलामा स्नान गरी फर्किने क्रममा ७ जना सवार कार डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।
इलाका प्रहरी कार्यालय बेलहिया (सुनौली) का प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार, दुर्घटनामा परी देवदह-९ भलूहीका गणेश खनाल, उनकी पत्नी दीपा खनाल (३५) र गीता शर्मा (४०) को निधन भएको छ।
उक्त दुर्घटनामा ५ जना घाइते भएका छन्, जसमा कोपिला पोखरेल, उनका छोरा शुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र भारतीय चालक रितेश दुबे रहेका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि गोरखपुर रेफर गरिएको छ। भारतीय प्रहरीले प्रारम्भिक रूपमा चालक निदाएको कारण दुर्घटना हुन सक्ने आकलन गरेको छ।
देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङका अनुसार, कुम्भ मेलाका लागि ३५ जनाको समूह पाँचवटा कारमा गएको थियो, जसमा एक गाडी मात्र दुर्घटनामा परेको हो। दुर्घटना सोमबार बिहान ५ बजे गोरखपुर नजिकै भएको बताइएको छ।
दुर्घटनामा ज्यान गुमाएका गणेश खनाल देवदहका सफल व्यवसायी थिए। उनका ७० वर्षीय बुवा र दुई सन्तान छन्। परिवारका सदस्यहरूले यात्रा नगर्न सुझाए पनि उनीहरू स्नानका लागि गएका थिए। दुर्घटनापछि भलूही गाउँ शोकमा डुबेको छ।
मृतकका शव नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ। भारतको प्रयागराजमा १४४ वर्षमा एकपटक आयोजना हुने महाकुम्भ मेला यसवर्ष सञ्चालनमा छ। कुम्भ मेला भने प्रत्येक १२ वर्षमा आयोजना हुन्छ, जसमा भारतभरिबाट आएका करोडौं श्रद्धालु गंगा, यमुना, र पौराणिक सरस्वती नदीको संगममा स्नान गर्छन्।