कैलाली — कैलालीको गोदावरी नगरपालिका–१, बसन्तपुर गुहेश्वरी टोलमा एक महिलाले सडकमै शिशु जन्माएकी छन्।
मंगलबार बिहान करिब साढे १० बजे ती महिला टोलस्थित सडकमा छटपटाइरहेको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट खैरानाबाट प्रहरी जवान चन्द्रिका कुमारी देउवा घटनास्थल पुगेकी थिइन्।
उनकै सहयोगमा महिलाले सडकमै शिशु जन्माइन्। जिल्ला प्रहरी कार्यालयका अनुसार ती महिलाले छोरालाई जन्म दिएकी हुन्।
जन्मलगत्तै आमा र नवजात शिशुलाई थप उपचारका लागि पद्म अस्पताल, अत्तरियामा पठाइएको प्रहरीले जनाएको छ। हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।