काठमाडौं। एएफसी महिला २० वर्षमुनिको एशियन कपमा पुग्न नेपालले उत्तर कोरियालाई हराउनुपर्ने भएको छ ।
हिजो भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले साउदी अरबलाई एक गोलले हराउँदा उत्तर कोरियाले भुटानलाई १० गोलले हरायो । योसँगै शीर्ष स्थानको उत्तर कोरियाले दुई खेलबाट ६ अङ्क पुर्याएको छ ।
उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० ले पराजित गरेको थियो । तर नेपालले भूटानसँग एक/एक गोलको बराबरी खेलेको थियो ।
नेपालको दुई खेलमा चार अङ्क छ । नेपाल र उत्तर कोरियाबीचको खेल भोलि हुनेछ । यो खेलले समूह ‘ए’ बाट एशियन कप खेल्ने टोलीको टुङ्गो लाग्ने छ ।
३२ देशको सहभागिता रहेको छनोटमा आठ समूह छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आउँदो वर्ष थाइल्यान्डमा हुने २० वर्षमुनिको एशिया कपमा स्थान बनाउने छन् ।