“शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ। संस्कृति हराए पहिचान हराउँछ, पहिचान हराए राष्ट्र हराउँछ।”
नेपाली तिथि-मितिको आधारमा झन्डै ३५ भन्दा बढी साना, ठूला, स्थानीय, क्षेत्रीय र राष्ट्रिय पर्वहरू मनाइन्छन्। नयाँ वर्षको सुरूवात वैशाख १ देखि असार १५, साउने संक्रान्ति, जनैपूर्णिमा, तीज, लोसार, सिरुवा, वडा दसैं, तिहार, उधौली, उभौली जस्ता पर्वहरूमध्ये माघे संक्रान्ति पनि महत्त्वपूर्ण पर्व हो। नेपाली मौलिक पर्व र सांस्कृतिक चाडहरूले धार्मिक र वैज्ञानिक पक्षहरू समेटेका छन्।
पर्वहरूले परिवार र समाजलाई जोड्ने, आपसी भाइचारा र सद्भाव बढाउने मात्र नभई मानसिक शान्ति दिने भूमिका पनि खेल्छन्। यी पर्वहरूले परिवारका टाढा रहेका सदस्यहरूलाई पनि नजिक ल्याउँछन्। यसरी समाजमा एकता र सहयोगको भावना विकास गर्न यी चाडपर्वहरूको महत्त्व उच्च छ।
माघे संक्रान्ति विभिन्न नामले चिनिन्छ, जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति। यो पर्व माघ महिनाको पहिलो दिन अर्थात् माघ १ गते मनाइन्छ। यो दिन नेपाल सरकारले सार्वजनिक बिदा दिने चलन छ।
माघे संक्रान्तिका दिन विशेषगरी नदी, नाला र धार्मिक आस्थासँग जोडिएका स्थानहरूमा स्नान गरेर पूजा-आजा गर्ने परम्परा छ। जस्तै, कनकाई, त्रिवेणी, कोशी नदीमा गएर स्नान गरी देवताहरूप्रति आस्था व्यक्त गरिन्छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने दिन भएकाले यसलाई “मकर संक्रान्ति” भनिएको हो। यस दिनदेखि दिन लम्बिंदै र रात छोट्टिँदै जान्छ।
यो दिन घिउ, चाकु, तिलको लड्डु, तरुल, रोटी, र अन्य परिकारहरू खाएर पर्व मनाउने चलन छ। यस्ता परिकारहरूले शरीरलाई पोषण प्रदान गर्नुका साथै विभिन्न रोगहरूको निवारण हुने विश्वास गरिन्छ। हाम्रो शास्त्र, जस्तै भविष्य पुराण, विष्णु बचन, र धर्म सिन्धुमा पनि माघे संक्रान्तिको महत्त्व वर्णन गरिएको छ।
नेपालका विभिन्न जातजाति र समुदायले आ-आफ्नो तरिकाले माघे संक्रान्ति मनाउँछन्। तराईका जिल्लामा यसलाई “तिला संक्रान्ति” भनेर चिनिन्छ। तराईवासीले खिचडी, तिल र चिउराका लड्डु जस्ता परिकार बनाएर खाने चलन छ। थारू समुदायले यसलाई आफ्नो मौलिक पर्वका रूपमा लिई विशेष धुमधामसहित तीन दिनसम्म मनाउँछन्।
मगर समुदायमा पनि यस पर्वको महत्त्व विशेष छ। उनीहरूले पहिलो दिन स्नान गरी पुर्खाहरूको पूजा, दोस्रो दिन बनभोज, र तेस्रो दिन तारो हान्ने जस्ता परम्पराहरू पालना गर्छन्।
आजभोलि विदेशमा रहेका नेपालीहरूले पनि माघे संक्रान्ति उत्साहपूर्वक मनाउने गरेका छन्। तिलको लड्डु, चाकु, रोटी, र अन्य परिकारहरू खाएर पर्व मनाउने परम्परा स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ।
यो पर्व शिशिर ऋतुमा पर्ने हुँदा शरीरलाई न्यानो बनाउने परिकारहरूको सेवन स्वास्थ्यका लागि उपयोगी छ। घिउ, चाकु, र तिल खाँदा शरीरमा गर्मी बढ्छ, ऊर्जा प्राप्त हुन्छ, र तेलले छालाका रोगहरू निवारण हुने विश्वास गरिन्छ।
त्यसैले, हामीले यी मौलिक परम्पराहरूको संरक्षण गरी आगामी पुस्तालाई यसको महत्त्व बुझाउनु आवश्यक छ। संस्कार र संस्कृतिको निरन्तरता कायम राख्दै राष्ट्र, राष्ट्रियता, र स्वधर्मको रक्षा गरौं।
माघे संक्रान्तिको अवसरमा सबैलाई हार्दिक शुभकामना!
इन्द्र प्रसाद ओली
अध्यक्ष,
राष्ट्रीय हिन्दू एकता मञ्च, नेपाल।