बुद्धशान्ति । गत शनिबार बुद्धशान्ति गाउँपालिका वडा नम्बर–५ का भिमबहादुर भट्टराईले हात्तीको आक्रमणमा परी ज्यान गुमाए । बिहान साढे तीनबजे हात्ती धपाउन निस्किएका भट्टराईको खुट्टा र छातीमा हात्तीको खुट्टाका निशाना देखियो । छ महिना अघि उनकै छिमेकी १५ वर्षिय अजित तामाङको हात्ती धपाउन निस्कदा सर्पको डसाईले ज्यान गयो । गत भदौ १७ गते सोही वडाकी सम्झना श्रेष्ठको धुलाबारीबाट स्कुटरमा घर फर्कने क्रममा हात्तीको आक्रमणमा परी ज्यान गुमाइन् ।

पछिल्लो पाँच वर्षमा हात्तीका कारण बुद्धशान्तिमा मात्रै पाँच जनाको ज्यान गएको छ । झापाभर १० वर्ष यता, चालु आर्थिक वर्षमा पाँच जना गरी ५९ जनाले ज्यान गुमाईसकेका छन् । बुद्धशान्ति–३ नम्बर वडावासीले त धेरै वर्षदेखी अन्नबाली सग्लै भित्र्याउन पाएका छैनन् । हरेक साँझ आउने हात्तीले धान, मकै, गहुँ र केरा सखाप पारिरहँदा निरिह बनेर हेर्नु बाहेक अर्को विकल्प छैन ।
मानव–हात्ती द्वन्द्व बढ्न थालेको भर्खरै भने होइन । चार दशकअघि जंगल मासेर मानव बस्ती विस्तार हुँदा बाहुनडाँगी र शान्तिनगरबाट जंगली हात्तीको उपद्रो सुरु भएको थियो । त्यसयता विस्तारित मानव–हात्ती द्वन्द्व दक्षीणको कचनकबल र पश्चिमको दमक हुँदै कोशीटप्पुसम्म फैलिइसकेको छ । आँफूले लगाएको अन्नबाली जोगाउने क्रममा कृषकको ज्यान समेत गइरहेको छ भने आफ्नो उब्जाउ र मानवीय क्षती कम गर्न असावधानिपुर्वक उपाय चाल्दा हात्तिको मृत्युदर गम्भीर समस्या बनेको छ ।
मानवीय र धनमाल क्षतिको ग्राफ उकालिँदै आएसँगै दुइबीचको द्वन्द्वका कारण हात्तिको हताहतीको संख्या पनि बढ्दो छ । पछिल्लो दश वर्षमा झापामा मात्रै १६ वटा हात्ती मारिएका छन् । चालु आर्थिक वर्षमा मात्रै ३ वटा हात्ती विद्युतिय झट्काका कारण मारिएको तथ्यांक छ । जिल्ला वन कार्यालय र स्थानीय सामुदायिक वनले विद्युतिय घेराबेराबारे स्पष्ट पार्न नसक्दा नाङ्गो तारमा परी धेरैले ज्यान गुमाईसकेका छन् ।
गाउँमा गौँडा गौँडा बाट हुल बाँधेर हात्ती आउने गरेपछि हात्ती प्रभावित बस्तीका मानिसहरू भोक र निन्द्रा हराउँदै घरमा बस्न पाउँदैनन् । साँझ पर्नासाथ तैनाथ रहँदा रहँदै पनि हात्तीका कारण मान्छे मर्ने लगायतका दुर्घटना र क्षति रोकिएको छैन । राष्ट्रिय सरोकारको मुद्दा बन्दै गएको हात्ती समस्याबारे गाउँपालिकासँग कुनै अभिलेख रहेको भने पाइदैन ।
आ.ब. | हात्तीको मृत्यु | मानव मृत्यु |
067/68 | 1 | 0 |
068/69 | 2 | 9 |
069/70 | 1 | 8 |
070/71 | 0 | 3 |
071/72 | 1 | 1 |
072/73 | 2 | 4 |
073/74 | 0 | 7 |
074/75 | 1 | 5 |
075/76 | 3 | 1 |
076/77 | 2 | 2 |
077/78 | 0 | 3 |
078/79 | 2 | 5 |
079/80 | 1 | 5 |
जम्मा | 16 | 53 |
गैर नेपाली | 6 | |
जम्मा | 59 |
के गर्दैछ गाउँपालिका ?
बुद्धशान्ति गाउँपालिकाले अहिलेसम्म ११ वटा हात्ती रुघ्ने टुङ बनाएको छ । नियमित रूपमा हुने क्षतिमा अवस्था हेरी पाँच हजार रुपैयाँ सम्म तत्काल सहयोग गर्ने बाहेक अन्य उपाय नभएको गाउँपापलिका उपाध्यक्ष भवानी खतिवडाले जानकारी दिए । उनले हात्ती धपाउन टर्च लाईट वितरण गर्ने गरिएको र नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्न अनुरोध गरिएको बताए ।
फोटो खिचाएर हरायो हात्ती खेद्ने जत्था

केही समय अघि जिल्ला वन कार्यालयले हात्ती खेद्ने पाँच जनाको टोली पठाएको थियो । बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले उक्त जत्था सवारी सहित हात्ती आएको समयमा पालिकामा खट्ने र सुरक्षामा खट्ने बताए । तर हात्ती नआएको भन्दै केही दिनमै उक्त टोली जिल्ला फर्कियो र अहिलेसम्म आएको छैन ।
ठोस रूपमा कार्यान्वयन हुँदैन नियन्त्रणका उपाय
गत वर्ष सम्पन्न स्थानीय र संघीय निर्वाचनताका गुञ्जिएको हात्ती नियन्त्रणको मुद्दा यतिबेला सुनसान छ । झापा क्षेत्र नम्बर १ का संघीय सांसद बिश्वप्रकाश शर्माले हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङ गर्ने भनेपनि बुद्धशान्तिमा काम हुन सकेको छैन ।
क्षतिपूर्ति दिन्छ, नियन्त्रणमा चासो छैन

जिल्ला वन कार्यलयले हात्ती लगायत १४ वटा वन्यजन्तुले पुर्याएको क्षतिमा अवस्था हेरी क्षतिपूर्ति दिने गरेको छ । १० वर्षको तथ्यांक केलाउँदा ६ करोड ५६ लाख रुपैयाँ जिल्ला वन कार्यलयले क्षतिपूर्ति शीर्षकमा रकम वितरण गरेको छ तर नियन्त्रणमा ठोस सक्रियता भने देखिदैन ।