काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईसहित २१ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा ठगी र सङ्गठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो ।
अनुसन्धानअनुसार, राईले सहकारीको कार्यसमिति सदस्य हुँदा ८९ लाख ३४ हजार र सचिव हुँदा १ करोड ४२ लाख १० हजार गरी कुल २ करोड ४० लाख रुपैयाँ हिनामिना गरेको देखिएको छ ।
राई आर्थिक वर्ष २०७३/७४ मा कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समिति सदस्य थिइन् । आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा भने उनी स्वर्णलक्ष्मी सहकारीको सहसचिवको जिम्मेवारीमा थिइन् । राई सञ्चालक समितिमा रहेको बेला आर्थिक वर्ष २०७३/७४ मा पनि रकम अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यतिबेला बिना धितो ऋण प्रवाह गरेको समेत भेटिएको थियो ।
स्वर्णलक्ष्मी सहकारीमा ८९ लाख ३४ हजार ३५५ रुपैयाँ सांसद राई सञ्चालक समितिको सदस्यमा रहेका बेला अपचलन भएको खुलेको छ । कुल पूँजीको १० प्रतिशतभन्दा बढी रकम लगानी गरेको भेटिएको छ । त्यस्तै सूचीकृत नभएका संस्थालाई समेत लगानी गरेको भेटिएको थियो । उनी सञ्चालक समितिमा रहेको अवधिमा सहकारीको २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ अपचलन भएको पाइएको छ ।
सङ्गठित कसुरअन्तर्गत राईविरुद्ध ३७ लाख ३५ हजार बिगो, ७ वर्ष कैद र ७० हजार जरिवाना माग दाबी गरिएको छ । अन्य २० प्रतिवादीविरुद्ध पनि सोही बिगो माग गरिएको छ ।
प्रतिवादीमा गितेन्द्रबाबु राई, देवेन्द्रबाबु राई, कुमार रम्तेल, इरान लामा, कविता तामाङलगायत छन् । ६६९ बचतकर्ताले ८७ किटानी जाहेरी दिएका छन् । राईलाई वैशाख १३ मा कपनस्थित निवासबाट पक्राउ गरिएको थियो । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध पनि मुद्दा दायर भएको थियो ।