वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेले बढ्दो उमेरसँगै देखिने मधुमेह, मोटोपन, खानपानमा असन्तुलन, उच्च रक्तचाप, मुटुरोगका कारणले मिर्गौलालाई असर गर्ने बताए। विश्वमा कुल जनसङ्ख्याको १० प्रतिशतमा मिर्गौलाको कुनै न कुनै समस्या हुने गरेको छ । सोहीअनुसार नेपालमा पनि करिब ३० लाख जनालाई मिर्गौलासम्बन्धी कुनै न कुनै रोग रहेको उनी बताउँछन्।
चिकित्सकहरुका अनुसार नेपालमा तीन लाख जनाको मिर्गौला बिग्रिन थालेको, ३० हजार जनाको नराम्रोसँग बिग्रिसकेको र तीन हजार जना मिर्गौला रोगको अन्तिम चरणमा रहेका छन्। ती तीन हजार जनाको मिर्गौलाको प्रत्यारोपण वा डायलायसिस गरेर मात्र उपचार सम्भव छ।
सरकारले मिर्गौला रोगको उपचारमा केन्द्रित भए पनि महँगो उपचारका कारणले सर्वसाधारणको पहुँच पुग्न सकेकाे छैन। सरकारले मिर्गौलासम्बन्धी बिरामीका लागि निःशुल्क डायलायसिस र प्रत्यारोपण गर्ने गरेको छ । साथै डायलायसिस र मिर्गौला प्रत्यारोपण गरेकालाई मासिक रु पाँच हजारसमेत दिने गरिएको छ।
‘सरकारले मिर्गौलाका बिरामीको उपचारका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा डायलायसिस निःशुल्क पुर्याएको छ’, उनले भने ‘हामी उपचारमा केन्द्रित भएका छौँ, तर रोकथाम भएन।’ उनका अनुसार बर्सेनि आठ हजारले डायलायसिस गर्ने गरेका छन्।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा काफ्लेका अनुसार पिसाबबाट प्रोटिन गएपछि र रगतमा क्रिएटिनिन बढ्यो भने मिर्गौला बिग्रने गर्दछ। मिर्गौलाले शरीरमा भएका विषाक्त पदार्थ र अनावश्यक पानीलाई शरीरबाट फाल्ने काम गर्छ । मिर्गौलाले रगत उत्पादन गर्ने काम गर्नुका साथै भिटामिन ‘डी’ र क्याल्सियमलाई सन्तुलन मिलाएर राख्ने काम गर्छ । मिर्गौलाले शरीरबाट नचाहिने तत्व फिल्टर गरेर फालेर शरीरलाई स्वस्थ राख्ने गर्दछ । मिर्गौलाले गर्नुपर्ने काम गर्न सकेन भने त्यसलाई मिर्गौला बिग्रेको भन्ने बुझिन्छ।
विशेषज्ञ डा काफ्लेले अधिकांश व्यक्ति मिर्गौला बिग्रेपछि मात्र उपचार गर्न आउने गरेको बताउछन् । ‘सुरुको अवस्थामा मिर्गौला बिग्रेका बिरामीलाई थाहा हुँदैन, जब मिर्गौला बिग्रिसकेको हुन्छ अनिमात्र बिरामी अस्पतालमा आउने गर्दछन्’, उनले भने, ‘मिर्गौलाको सुरुको चरणमा पत्ता लगाएर उपचार गर्न पाइयो भने उपचार सम्भव हुन्छ।’ उनले सबैको वर्षमा एकपटक अनिवार्यरूपमा पिसाब परीक्षण गराउनुपर्ने बताए।
मिर्गौला प्रत्यारोपण नै यसको उपयुक्त उपचार
मिर्गौला बिग्रेपछि डायलासिसभन्दा प्रत्यारोपण गर्नु नै उपयुक्त हुने चिकित्सकहरू बताउछन्। डायलायसिस गरेपछि मानिसले काम गर्न नसक्ने र हप्तामा दुई÷तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ । त्यसले गर्दा महँगो पर्ने जान्छ । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले काम गर्न सक्ने र जीवन पनि सहज हुन्छ।
सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने गरेको छ । मिर्गौलाको प्रत्यारोपणका लागि बिरामीलाई काठमाडौँ आउनुपर्ने बाध्यता रहेको छ । नेपालमा सरकारी अस्पतालमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिन्छ।
केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठे मिर्गौलाका बिरामीले ९० प्रतिशत मिर्गौला बिग्रिसकेपछि मात्र थाहा पाउने हुँदा डायलायसिसभन्दा प्रत्यारोपण गर्नु नै उपयुक्त रहेको बताउछन्। उनका अनुसार केन्द्रमा वार्षिक करिब दुई सय बिरामीको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । केन्द्रले अहिलेसम्म एक हजार दुई सय १६ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको उनी बताउँछन्। वीर र शिक्षण अस्पतालले सन् २००८ देखि मिर्गौला प्रत्यारोपण सुरु गरेका हुन् । केन्द्रमा अहिले दैनिक एक सय ४० जनाको डायलायसिस हुने गरेको छ।
निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न रु १२ देखि १८ लाख लाग्ने गरेको छ । निजी अस्पतालमा नर्भिक अस्पताल, नेपाल मेडिसिटी अस्पताल, ग्राण्डी अस्पताल, किष्ट अस्पताललगायतमा मिर्गौला प्रत्यारोपण हुने गरेको छ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डाकाफ्लेका अनुसार स्वच्छ जीवनशैली अपनाउनु नै मिर्गौला रोगबाट बच्नु रहेको छ । माछा, मासु, दूध र दही कम खाने, असन्तुलित खानेकुरा नखाने, दैनिक दश हजार पाइला हिँड्ने, प्रशस्त पानी र सागसब्जी खानुपर्ने सुझाव उनकाे छ । यस्तै अत्यधिक मात्रामा दुखाइका औषधिको प्रयोगले पनि मिर्गौलालाई असर गर्दछ।
लक्षण
पिसाबको मात्रा घट्नु, अनुहार र आँखाका डिल सुन्निनु, शरीर सुन्निनु, पिसाबको मात्रा, गन्ध र रङमा परिवर्तन आउनुजस्ता समस्या देखिए मिर्गौलामा समस्या देखिएको हुनसक्छ । यस्तै सुरुमा थकान महसुस हुने, रगतको कमी हुने, वाकवाकी लाग्ने, फोक्सोमा पानी जम्मा भएपछि श्वास फेर्ने समस्या हुनेजस्ता मिर्गौला खराबीका लक्षण हुन्।
बच्ने उपाय
प्रशस्त मात्रामा पानी पिउने र सन्तुलित खाना खाने गर्नु पर्दछ । मिर्गौलामा रोग लाग्न नदिन नियमितरूपमा मधुमेह तथा पिसाब परीक्षण गराउनुपर्दछ । आफ्नो इच्छाले एन्टिवायोटिक औषधि खानु हुँदैन। रासस