दिपेन्द्र लुईटेल भोजपुर ।
भोजपुर नगरपालिका–७, कोदार रङ्गशालामा जारी मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई लगातार तीन सेटले पछाडि पार्दै गण्डकी प्रदेश सेमिफाइनल प्रवेश गरेको छ ।
गण्डकीले २५–२१, २५–१९ र २५–१५ अङ्कले बागमती प्रदेशलाई पराजित गरेको हो ।
यही चैत २८ गतेसम्म हुने प्रतियोगिता सञ्चालनका लागि कोशी प्रदेश सरकारको कोशी प्रदेश खेलकुद विकास बोर्डमार्फत रु २० लाख सहयोग गरेको छ । प्रतियोगितामा मधेस र कर्णालीबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिनुभयो । पाँच विधामा विधागतरुपमा उत्कृष्टलाई रु १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ