मेचीनगर। मेचीनगर नगरपालिका–१२ स्थित शान्तिराम चिमरियाको रबर उद्योगमा आज विहान आगलागी भएको छ ।
रबर सुकाउने (स्मोक हाउस) मेसिनमा विद्युत सट हुँदा उद्योमा आगलागी भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उद्योगमा आगलागीबाट करिब रु ३५ लाख बराबरको क्षति भएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
विहान ९ बजे भएको आगलागीबाट उद्योगमा तयारी अवस्थामा रहेको १० मेट्रिक टन रबर, रोलर मेसिन र डेढसय मन धान जलेर नष्ट भएको छ । हाल आगलागी मेचीनगर नगरपालिकाबाट गएको दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा आइसकेको छ । चिमरियाले धाइजन पशुपालन तथा रबर उद्योग सञ्चालन गर्दै आउनुभएको थियो ।