झापा। जिल्ला प्रहरी कार्यालय झापाले अवैध सामानसहित एउटा भारतीय कार र चालकलाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका चालक ३४ वर्षीय अमित सिंह रहेका छन्। सिंह भारत बंगालको दार्जिलिङका बासिन्दा हुन्। उनलाई मेचिनगर नगरपालिका–६ कालिखोला नजिकै भारतबाट नेपालतर्फ आउँदै गर्दा कारसहित पक्राउ गरिएको हो। डब्ल्यूबी ७४ एस २१५२ नम्बरको भारतीय कारलाई शुक्रबार दिउँसो चेकजाँच गर्ने क्रममा प्रहरीले अवैध सामान फेला पारेको थियो।
प्रहरीका अनुसार कारको सिटमुनि फल्स बटम बनाई लुकाइएको अवस्थामा मोबिल तथा मोटर पार्टपुर्जाहरू फेला परेको थियो। ती सामानको अनुमानित मूल्य एक लाख १५ हजार ५८२ रहेको छ। त्यस्तै कारको मूल्य ८ लाख गरी जम्मा नौ लाख पन्ध्र हजार ५८३ बराबरको कार र सामान बरामद गरिएको झापा प्रहरीले जानकारी दिएको छ।
उक्त कार र सामानसहित चालकलाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाइएको छ। घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
