झापा। झापाको मेचीनगर नगरपालिकामा चितुवाको आतङ्क बढ्दै गएको छ ।
नगरपालिकाको वडा नं २ र ४ स्थित आलडाँगी क्षेत्रमा प्रवेश गर्ने चितुवाले आतङ्क मच्चाएको हो । केही दिनयता चितुवाले बाख्रा, कुकुर, सुँगुरका पाठा लगायत झण्डै दुई दर्जन घरपालुवा जनावरलाई आक्रमण गरी मारेको स्थानीयवासीले बताएका छन् ।
चितुवा अहिले वडा नं. २ आसपासका जङ्गली क्षेत्र तथा बस्तीमा देखिन थालेको बताइएको छ । वडा नं २ कार्यालयले बालबालिका र सर्वसाधारणलाई सतर्क रहन सूचना जारी गर्दै बालबालिकालाई एक्लै घरबाहिर नपठाउन आग्रह गरेको छ ।
वडा नं। ४ का अध्यक्ष अर्जुन कार्कीका अनुसार चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष, सशस्त्र सुरक्षाकर्मी, द्रुत प्रतिक्रिया टोली र जनप्रतिनिधि जुटेका छन् । अध्यक्ष कार्कीले सञ्चारमाध्यमहरूसँग चितुवासम्बन्धी सूचना प्रसारमा सहयोग गर्न र स्थानवासीलाई थप सतर्कता अपनाउन अपिल गर्नुभएको छ ।