झापा। नेपालमा पहिलो पटक नयाँ प्रजातिको चरा भेटिएको छ। झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टामा ‘पर्पल रम्प्ड सनबर्ड’ (बैजनी बुंगे) नामक चरा फेला परेको नेपाल पन्छीविद् संघले पुष्टि गरेको छ।
चराविद् देवेन्द्रकुमार खरेलले फागुन ७ गते बिहान अवलोकनका क्रममा उक्त चरा देखेका थिए। मेचीनगरको एउटा घरको एभोकाडो र शीतल चिनीको रुखमा भाले र पोथी दुवै देखिएका थिए। सोही स्थानमा चरा दुई दिनसम्म देखिएको नेपाल बर्ड रेकर्ड कमिटीका डा. तुलसी सुवेदीले जानकारी दिए।
चराको अवलोकन खरेलपछि अन्य चराविद् अनिस तिमसिना, चक्र तिमसिना र शंकर लुइँटेलले पनि गरेका थिए। खरेलले फागुन ९ गते चराको तस्वीर नेपाल बर्ड रेकर्ड कमिटीमा पुष्टिका लागि पठाएका थिए, जसले हालै यसको औपचारिक पुष्टि गरेको हो।
यस खोजसँगै नेपालमा फेला परेका चराको संख्या ८९८ पुगेको छ। बैजनी बुंगे मुख्यतः बंगलादेश, भारत, म्यानमार र श्रीलंकामा पाइने आवासीय चरा हो। नेपालमा पहिलो पटक फेला परेको यस चराले देशको जैविक विविधताको अध्ययनमा नयाँ अध्याय थपेको पन्छीविद्हरूको भनाइ छ।