मेचीनगर। मेचीनगरमा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले विद्यालय हाताभित्र मोबाइल प्रतिबन्ध गर्ने माग आज आयोजित एक कार्यक्रममा जोडदार रूपमा उठाइएको छ। बाहुनडाँगी नागरिक समाजद्वारा आयोजित ‘सामुदायिक विद्यालयमा देखिएका समस्या र समाधानका उपाय’ विषयक छलफल कार्यक्रममा सरोकारवालाहरूले यो आग्रह गरेका हुन्।
मेचीनगर-२, भृकुटीस्थित भानु माविमा आयोजित छलफलमा शिक्षक र विद्यार्थीहरूले विद्यालय पस्दा मोबाइल नलान पाउने नियम बनाउन आग्रह गरेका छन्। भर्खरै एसइईको नतिजाले चिन्तामा रहेका मेचीनगरका विद्यार्थी, शिक्षक र अभिभावकहरूले शैक्षिक स्तर सुधार्न छलफलहरू गरिरहेका छन्। यस विषयमा स्थानीय सरकार पनि गम्भीर बन्नुपर्ने सरोकारवालाहरूको भनाइ छ।
सरस्वती माविका पूर्व प्रधानाध्यापक प्रेम क्षेत्रीले विद्यालयमा विद्यार्थीले कम्पाउण्ड भित्र मोबाइल नलान पाउने र शिक्षकहरूले पनि विद्यालय समयभरि दराजमा राख्न सके शैक्षिक क्षेत्रमा केही मात्रामा सुधार हुने दाबी गरे। “विद्यार्थीले कति सिके भन्दा पनि शिक्षकले कति पढाए वा बुझाउन सके त्यसमा भर पर्छ,” क्षेत्रीले भने, “शिक्षकको समय १० बजेदेखि ४ बजेसम्म मात्र होइन। शिक्षकको योगदान धेरै हुन्छ। शिक्षक मरेर जाँदा पनि नाम शिक्षक रहिरहन्छ।”
कार्यक्रममा दिपेन्द्र आधारभूत विद्यालयकी प्रधानाध्यापक शान्ता निरौला, कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक राजन गिरी, मेची जनसाधारण माविका प्रधानाध्यापक चन्द्रशेखर गुरागाई, मेचीनगर-१ का स्थानीय सूर्य राई, शिक्षकहरू पुष्कर ढकाल, विष्णु अधिकारी, टेकचन्द्र फुयाँल, पूर्व शिक्षक हरि न्यौपाने, पूर्व प्रधानाध्यापक सोम आचार्य, विशालकृष्ण बाँस्तोला, भानु मावकी प्रधानाध्यापक खड्गकुमारी तिम्सिना, मेचीनगर-२ का वडाध्यक्ष दिपक बराल, वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की लगायतले आ-आफ्नो धारणा राखेका थिए।
सामाजिक अभियन्ता गोविन्द न्यौपाने र भानु माविका सहायक प्रधानाध्यापक ज्ञानेन्द्र ढुंगानाले सामुदायिक विद्यालयका समस्या र तिनका समाधानका उपायहरू विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। बाहुनडाँगी नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कोशाध्यक्ष चन्द्रप्रसाद ढकालले तथा सञ्चालन महासचिव पोषककुमार दर्जी र ज्ञानेन्द्र ढुंगानाले संयुक्त रूपमा गरेका थिए।
यसैबीच, छलफलले वडा नम्बर १, २, ३ र ४ का १३ वटा विद्यालयको संयुक्त कार्यदल समिति बनाएको छ। मेची जनसाधारण माविका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईको संयोजकत्वमा मेचीनगरमा शैक्षिक गुणस्तर सुधार्न सबै खालका प्रयत्न गरिने गरी समिति निर्माण भएको अध्यक्ष तिवारीले जानकारी दिए।
 
								 
															

















