मेचीनगर – मेची उद्योग वाणिज्य संघले यस वर्षको ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट रेडियो साथीकी निर्देशक सुष्मा राजबंशीलाई सम्मान गर्ने भएको छ।
संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा मंगलवार धुलाबारीमा बसेको बैठकले पत्रकार राजबंशीलाई २१ हजार रुपैयाँ राशिसहितको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। संघका कार्यकारी निर्देशक गोपाल बस्नेतका अनुसार पुरस्कार आगामी चैत ७ गते धुलाबारीस्थित होटल रोयल निर्माणको सभा हलमा आयोजना हुने संघको २०औँ वार्षिक साधारण सभामा प्रदान गरिनेछ।
पत्रकार सुष्मा राजबंशी झापाको पत्रकारितामा १४ वर्षदेखि सक्रिय छिन्। उनले यसअघि राजधानीको उज्यालो नेटवर्क, रेडियो सरगम, रेडियो सनराइज लगायत विभिन्न सञ्चारमाध्यममा काम गरिसकेकी छिन्।
पत्रकार छनोट समितिको संयोजन संघका निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिनाले गरेका थिए। समितिमा मेचीनगर नगरपालिका–१० का वडाध्यक्ष नारायण खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, साहित्यकार भीम खवास, कार्यकारी निर्देशक गोपाल बस्नेत लगायतको उपस्थिति थियो।
संघले यसअघि गोविन्द चन्द क्षेत्री, राजु अधिकारी, पर्वत पोर्तेल, मनिषा चम्लागाई, रोहित काफ्ले, मुक्ति पौडेल र अम्बिका भण्डारीलाई सोही पुरस्कारबाट सम्मान गरिसकेको छ।
यसैगरी, संघका वरिष्ठ सहायक गंगा विकलाई ‘उत्कृष्ट कर्मचारी’ का रूपमा १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिने निर्णय पनि गरिएको छ।
संघको २०औँ वार्षिक साधारण सभाका प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री एकराज कार्की रहनेछन्।