काठमाण्डौ महानगरको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले माफी मागेका छन्। केहि समय यता निरन्तर विवादास्पद अभिव्यक्ति दिदै आएका स्थापितले आज एक कार्यक्रममा बोल्दै माफी मागेका हुन्।
चुनावी कार्यक्रमका दौरान स्थापितले आफु माथि लागेको दुर्व्यवहारको प्रशंगमा बोल्दै एक महिलालाई पागलको संज्ञा दिएका थिए।
‘मैले माफी माग्नुपर्छ । यो चुनावी युद्धमा, युद्ध नै हो भने हतियार प्रयोग गरिन्छ । मिसाइल प्रयोग हुन्छ । हामीमाथि पनि हमला होला, आरोप होला । त्योभन्दा चर्को हमला हामीले पनि गर्यौं,’ माफी माग्दै उनले भने, ‘अझ जिउ फुलाएर देखायौं । नदेखाए त हेप्छ नि ! मैले नाचेँ होला, गाएँ होला र तिक्त भाषा बोले होला ।’
उनले भने, ‘मेरो वाणीले कसैलाई अप्ठ्यारो परेछ, माफ पाउँ । मेयर हुने मान्छेले माफ माग्न सिक्नुपर्छ । क्षमा पाऊँ । मेरो हाउभाउले दुःख भएछ, पीडा भएछ माफ पाउँ । मेरो लेखनले पीडा भएछ भने माफ पाउँ ।’
‘केही महिला वृन्दहरूलाई यो मान्छे कठोर छ कि भन्ने लागेको छ भने यो मान्छे फूलजस्तो हो । सेवा गर्न पाउँ । माफ पाउँ मैले केही गल्ती गरेको भए ।’ ‘क्षमाको कमी भएको भए स्वीकार (कन्फेस) गर्छु’ भन्दै उनले पटक-पटक माफी मागेका थिए।