Search
Close this search box.
Search
Close this search box.

मैले देखेको शान्तिनगर अनि युद्ध कुमार दाहाल सर

सुरज खनाल , झापा शान्तिनगर ।
शान्तिनगर यसैपनि पहिलो पल्ट नाम सुन्ने हरेक मानिसको मनमा सायदै यो नामले डेरा जमाउँछ र उत्सुक्ता जगाउँदछ जस्तो लाग्दछ । झापाको उत्तरी भुभाग यसैपिन वरिपरि तीन तिरबाट ईलामका हरिया पहाडहरुले घेरिएको अनि वातावरण अनुकुल मौसम रहेको यस ठाउँ सायदै कुनै कुरामा कमी छैन । कहिलेकाहीँ प्रकृतिका अनुपम छटाहरु हेर्दा लाग्छ कसैले फुर्सदमा आफ्नी प्रेमीकालाई विशाल सागरका गहिराई भन्दा तल तल सम्म डुबुल्की मारी लेखिएका प्रेम पत्रहरुभन्दा पनि शुन्दर यो प्रिय ठाउँ छ ।

एकातर्फ विशाल हाँसपोखरी को उपस्थिति त त्यसको काखबाट बहेको टिमाईका कञ्चन छङ्ग छङ्ग बहेका ती लोभलाग्दा पानीहरुमा रमेको मन अनि विभिन्न जात बर्णका मानिसको शहिष्णुताले भरिएको वस्ती । छेवैमा रहेको सेतिदेबी, दुर्गापाञ्चायान तथा अचलेश्वर मन्दिरले शान्तिनगरमा अर्को ठुलो महत्व बोकेको छ । बिबिधतामा एकता भन्ने एउटा अर्को अनुपम अनि उदाहरणिय बस्ती रहेको छ शान्तिनगरमा ।

भुगोलमा  शान्तिनगरको उपस्थिति ठूलो रहेको छ जसले, गौडा, बार्हघरे, ठुटेबर, खोप, चारभैया, सन्तपुर, गोलाटार, डाँडागाउँ, देउराली, खारखोला, टिमाई, सट्टाभर्ना, मङ्गलबारे, आईतबारे, बर्ने, जोगिडाँडा, सुनमाईलाई समेटेता पनि शान्तिनगरको मानकका रुपमा धेरैले साबिकको ८ र ९ नम्बर वडालाई मान्दै आउनु भएको छ ।

इतिहासमा शान्तिनगरले मैले जाने सम्म र सुने सम्म लेख्न पर्दा नेपाली समाज हाँकेका बिद्वान राजनीतिज्ञ, समाजसेवी, साहित्यकार, संस्कृतिविद्, भाषाविद, कलाकार, सार्बजनिक प्रशासनका धरोहर देखि लिएर प्राध्यापक, वकिल, शिक्षक, बैज्ञानिक तथा खेलाडीहरु उत्पादन गरेको छ । शान्ति आदर्श माध्यामिक बिद्यालय एउटा यस ठाउँको धरोहर अनि महत्वपुर्ण इतिहास बोकेको हाम्रो सम्पदाको इतिहास र उत्पादन पढ्दा सुन्दा अनि देख्न पाउँदा आझ पनि मन प्रफुल्लित हुन्छ ।

यही सम्पदाले नासाका बैज्ञानिक देखि लिएर बरिष्ठ पत्रकार तथा नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर चन्द्र भण्डारी देखि लिएर राजदुत तथा प्राध्यापक लोकराज बराल तथा विभिन्न क्षेत्रमा दख्खल राख्ने नेपाली समाजका गहनाहरुको उत्पादन गरेको छ । शान्तिनगर एउटा पबित्र उर्बर भुमी हो यहीको टिमाईका ती कंचन पानीमा डुबुल्की मार्दै सङ्गितकार टीका भण्डारी तथा नेपाली राजनैतिक आकाशमा आशाका दियो बनी उदाएका युवाहरु माझ लोकप्रिय युवा विश्व प्रकाश शर्माले आफ्नो बाल्यकाल ब्यतित गर्नु भएको छ । यतिमै सिमित छैन शान्तिनगर र यहाँ दुईचार हरफमा शान्तिनगरलाई अटाउन समेत गाह्रो पर्दछ ।

शान्तिनगर मेरो पवित्र जन्म भुमी तथा मेरो कर्म भुमी । माया प्रेम अनि स्नेहको प्रिय साथी, कसलाई पो जन्मभुमि प्रति अघात माया प्रेम नहुँदो हो । मलाई थाहा छैन तपाईं आम मानिसमा आफ्नो जन्मभुमि प्रति कति प्रेम छ कति समर्पण छ । मलाई मेरो जन्मभुमी र यसको परिचय सङ्ग थाहा छैन किन यति प्रेम छ मेरा मानसपटलमा जहाँ गए पनि हरेक पल एउटै मात्र नाम घुमिरहेको हुन्छ र्। शान्तिनगर ।  धेरैको सपना हुन्छ राम्रो शिक्षा हासिल गर्ने अनि राम्रो अवसरहरु सदुपयोग गर्दै ती अवसरका ढोकाहरु सङ्गै आफ्नो जीवनलाई प्रगतिशील बनाउने । हो, हरेक आम मानिसका सपनाहरु जस्तै मेरा सपनाहरुपनि छ्न तर केही फरक अनि अलग । एउटा युवाको चाहना हुन्छ, आफ्नो उच्च शिक्षा अध्ययन गर्ने अनि आएका अवसरलाई सदुपयोग गर्दै शहर तर्फ लम्कने । नेपाली समाजमा अहिले देखेको अनि तपाईं हामीले नजिकबाट अनुभूति गरेको एउटा यथार्थ पनि यहि हो, यसलाई यहाँ सकारात्मक रुपमा वर्णन गर्न खोजिएकाले अन्यथा नलिदिनु हुन बिनम्र अनुरोध छ । धेरै कमको रोजाईमा गाउँ फर्कने अनि आफ्नो गाउँको सेवा गर्ने एउटा चाहना हुन्छ । यसै मध्येको एक हुनुहुन्छ आदरणीय युद्ध कुमार दहाल सर ।

धेरै कमको जन्म कर्म अनि महाप्रस्थान एकै ठाउँमा हुन्छ । यस्ता मानिसलाई भाग्यमानी ठान्नु पर्दछ जो जहाँ जन्मनु भयो अध्ययन गर्नु भयो अनि आफ्नो कर्मलाई त्यही समाजको योगदानका निमित्त खर्चेर कसैको आँखामा नबिझाईकन महाप्रस्थान हुनु भयो । मनहरु भारी हुन्छ्न अनि स्तब्ध हुन्छ्न् यसरी कहिल्यै अर्काको आँखामा नबिझ्ने गरि हामी माझबाट टाढा हुनु भएका ब्यक्तित्वहरुको ओझ र हाम्रो समाज प्रतिको निश्वार्थ योगदान सम्झँदा । त्यसै मध्येको एक हुनु हुन्छ शान्तिनगर अनि हाम्रो समाजलाई कहिल्यै तिरेर नसकिने विशाल सामाजिक योगदान र समाजमा अलग शिक्षा दिन सफल रहनु भएका आदरणीय ब्यक्तित्व युद्ध कुमार दहाल ।

शान्ती आदर्श माध्यामिक बिधालयलमा आफ्नो औपचारिक शिक्षा लिनु भएको आदरणीय सरले जिवनको आफ्नो उर्वर समय यही शैक्षिक संस्थाको उन्नयनका निमित्त शैक्षिक पेसामा आबद्ध रही बिताउनु भयो । शान्तिनगर र आसपासका विशाल क्षेत्रमा रहनु भएका करिब करिब यो पुस्ताका अधिकांश मानिसले आफ्नो कखरा युद्ध सरको हातबाट सिक्नु भएको छ । एउटा शालिन ब्यक्तित्व अनि धेरै बिषयमा दख्खल राख्नु हुन्थ्यो सरले । स्कुलमा प्राय आफ्नो पठनपाठनका अलावा खेलकुद, सङ्गित तथा अन्य टेक्निकल कुराहरुमा सरले  बिद्यार्थीहरुलाई धेरै गाईड गर्ने गर्नु हुन्थियो । सरको शिक्षाबाट शालिनता, धैर्यता तथा आफुलाई सिर्जनात्मक राख्नका निमित्त धेरै शिक्षा ग्रहण गर्न सक्यौ ।

देशले शसस्त्र युद्धको पिडा भोग्दै गर्दा हरेक समाज त्यसबाट अछुतो रहेन । सबैतिर युद्धको असर थियो । युद्ध साम्यभए पश्चात शान्तिपुर्ण यात्राका केही बर्ष पछि भएको राज्य पुनः सरचना सङ्गै सुचना तथा प्रबिधिमा देशले कायापलट गर्यो । देशले धेरै पछि अनुभूति गर्दै गर्दा पनि युद्ध सरले आफ्नै सीप तथा लगनमा घरमै लघु बिद्युत उत्पादन गरि हामीलाई त्यो समयमा गाउँमै टेलिभिजन हेर्न सकिन्छ भनी नजिकबाट टेलिभिजन हेर्ने अवसर जुटाईदिनु भएको थियो ।

 करिब १९९८, २००२ र २००६ मा भएका अधिकांश विश्व फुटबलका गेमहरु सर सङ्गै बसि हासी ठट्टा गर्दै हामी सम्पुर्ण गाउँ बासीहरु हेर्दथ्यौं । हामी स्कुल लेभलका अधिकांश बिद्यार्र्थीरु माझ शक्तिमान अनि जुनियर जि तथा चन्द्राकान्ता त्यसबेला सुपरिचित थिए । साईकलका पाईडल सङ्ग डाईनामो जोडेर सरले शक्तिमान तथा उबेला शनिबार नेपाल टि भि बाट आउने हिन्दी सिनेमा हेर्ने अवसर जुटाईदिनु भएको थियो । लेखन तथा पठनपाठनमा कोहि कमजोर छ भने अभिभावक सङ्ग समन्वय गरि स्तर उकास्न उत्प्रेरित गर्ने तथा कक्षामा राम्रो गर्ने बिद्यार्थीलाई अघि बढ्ने सवालमा हौसला प्रदान गर्न सर सदैब अग्रस्थानमा हुनु हुनुहुन्थ्यो ।

युद्ध सर, समाजमा एउटा निष्ठा, सरलता तथा सादगीको अर्को नाम भनि सुपरीचित हुनुहुन्थ्यो । हाम्रो समाजमा कहिँकतै समन्वयकारी भुमिकाको ब्यक्तित्व खोजी हुँदा सरको नाम सदैब अग्रस्थानमा आउँदथ्यो । समाजमा हुने सामन्य झैझगडा तथा अन्य कार्यहरुमा सरको भुमिकाको सबैले प्रशंसा गर्नु हुन्छ । समाजमा हुने बिकास निर्माणका कार्यमा आफुलाई सदैब सकृय राख्ने तथा बिकास निर्माणका कार्यलाई गुणस्तरीयता दिनका निमित्त वहाँको सदैब सक्रियता रहन्थियो। शालिन ब्यक्तित्व तथा नम्र शब्दमा आफ्नो ब्यक्तित्व हामी माझ प्रस्तुत गर्नु हुने आदरणीय सरको हाम्रो समाजमा भएका गरेका योगदानको जति चर्चा तथा लेख्न खोजेता पनि कम हुन्छ । वहाँबाट हामीले हाम्रो समाज निर्माण तथा आफ्नो ब्यक्तित्व निर्माणका निमित्त विशाल समुन्द्र झैं शिक्षा पाउन सक्दछौ । वहाँको अभाव हामी सम्पुर्ण शान्तिनगर बासीमा सदैब खड्किरहने छ ।


धेरै कम मानिसले पाउने एउटा समयको अवसर जो सरले हाम्रो समाजमा पाउनु भयो( आफ्नो शिक्षा देखि आफ्नो कर्मभुमी सम्म हाम्रो समाजलाई नै बनाई योगदान दिनु भयो र हामीलाई यहाँ सम्म ल्याई पुर्याउन समाजमा एउटा कहिल्यै बिर्सन नसक्ने सामाजिक योगदान दिनु भयो । वहाँको योगदान,बिचार तथा ब्यक्तित्वको  शान्तिनगरले सदैब सम्झना गर्दै अनुसरण गरिरहनेछ।
भावपुर्ण श्रद्धाञ्जली आदरणीय गुरु युद्ध कुमार दहाल सर प्रति ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

suraj-khanal

सुरज खनाल

खनाल समसामहिक विषयवस्तु तथा युुवाका क्षेत्रमा कलम चलाउने स्तम्भकार हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *