झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित भन्सार कार्यालय अगाडिबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुद्वशान्ति गाउँपालिका–२ का ४२ वर्षीय दीपकप्रसाद प्रसाई रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले बुधवार भारतबाट नेपालतर्फ आउँदैं गरेको मे.५ प ५७०९ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो ।
प्रसाईलाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकलको एयर फिल्टरमा लुकाई छिपाई ल्याउँदै गरेको ब्राउन सुगर ४ ग्राम ५०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



















