कचनकवल। झापाको कचनकवल गाउँपालिका ३ स्थित मोती माविमा स्वास्थ्य परामर्श कक्ष स्थापना भएको छ।
स्वास्थ्य परामर्श कक्षको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले उद्घाटन गर्नुभएको थियो।

उद्घाटन पश्चात उहाँले यस्ता प्रकारका कार्यक्रमले विद्यालयमा शिक्षा हासिल गर्न सहज हुने बताउँदै हरेक माध्यमिक विद्यालयमा कम्तिमा नर्सिङ सेवा दिन सक्यौं भने बालबालिकाहरूलाई प्रशस्त फाइदा पुग्ने उल्लेख गर्नुभयो।

बिशेश गरी मोती माविले विद्यालयमा अध्ययन गर्ने कोशोरीहरुलाई लक्षित गर्दै विद्यालयका जेण्डर फोकल पर्सन कल्पना खड्का अधिकारीको नेतृत्वमा विद्यालयकी शिक्षिकाहरुको समूहले कक्षबाट नियमित सेवा दिइने छ।
परामर्श कक्षबाट स्थानीय स्वास्थ्य चौकीसँग समन्वय गरेर जुकाको औषधी, भिटामिन ‘ए’का कार्यक्रम, कुष्ठरोग सम्बन्धी सचेतना कार्यक्रम, आइरन चक्की वितरण, रक्तचाप जाँच र विभिन्न किसिमका खोपका कार्यक्रमहरू सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक छवि बस्नेतले जानकारी दिनुभयो।
बस्नेतका अनुसार परामर्श कक्षबाट छात्राहरूलाई आवश्यकता अनुसार स्यानिटरी प्याडको व्यवस्थापन गरिदिने र महिनावारीको समयमा छात्राहरूमा हिँडडुल गर्न नसक्ने अवस्थामा सोही कक्षामा विश्राम नगर्नेसम्म व्यवस्था हुने उहाँले बताउँनुभयो।
यसैबीच गत शैक्षिकसत्रमा विद्यालयले व्यवस्थापकीय र शैक्षिक सुधारका उत्कृष्ट अभ्यास गरेको हुनाले नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रोत्साहन स्वरुप प्राप्त गरेको पाँच लाख रुपैयाँबाट ३० हजार रुपैयाँ भने विद्यालयमा अध्ययनरत अभिभावकविहीन २२ जना छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको छ।

साथै अन्य कक्षागत शैक्षिक अवलोकन, शिक्षक अवलोकन अभिभावक शिक्षा कार्यक्रम र कमजोर सिकाइ भएका बालबालिकाहरू लाई अतिरिक्त कक्षाको व्यवस्थापन गरी क्षमता अभिवृद्धि कार्यक्रम गरिने विद्यालयका प्रधानाध्यापक छवि बस्नेतले जानकारी दिनुभयो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेषलाल राजवंशीको सभापतित्व कार्यक्रममा कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशीको प्रमुख आतिथ्यता रहेको थियो।
त्यस्तै, कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य मेघलाल राजवंशी, विष्णुमाया प्याकुरेल, सोभा सुन्दास, पथरिया स्वास्थ्य चौकी इन्चार्ज विजयकुमार झा, शिक्षक अभिभावक संघका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक छवि बस्नेतले गर्नुभएको थियो।
































