विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ कदमहास्थित बिहे घरमा बेहुला र बेहुली पक्षबीच दोहोरो झडप भएको छ । झडपमा परेर ५ जना घाइते भएका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार भजनलाल सहनीको छोरीको बिहेमा शुक्रबार राति ११ः३० बजेतिर झडप भएको हो । बिहेको कार्यक्रम चलिरहेका बेला डिजे बजाएर नाच्ने क्रममा दुई पक्षबीच विवाद भएको थियो ।मदिरा सेवन गरेका जन्ती (बेहुला पक्ष) र घरगाउँले (बेहुली पक्ष)बीच बढेको विवाद झडपमा परिणत भएको जानकारी जोशी दिए । उनका अनुसार झडपमा धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, विराटनगर महानगरपालिका–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी घाइते भएका छन् ।
घाइते हुनेहरु दुवै पक्षका छन् । घाइतेमध्ये वीरेन्द्र र श्रवण बेहुली पक्ष तथा अरु ३ जन्तीहरु रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो ।घाइतेमध्ये ३ जनाको टाउकोमा चोट लागेको छ । उनीहरुको टाउकोमा टाँका लगाइएको छ । सबै घाइते खतरामुक्त रहेको र केही घाइते उपचारपछि घर फर्किएको जानकारी डीएसपी जोशीले दिए ।
उनका अनुसार विराटनगरको पिचराबाट बेहुला लिएर जन्तीहरु बेहुली लिनलाई धनपालथान पुगेका थिए । बिहेको कार्यक्रम चलिरहेका बेला बेहुला र बेहुली पक्षबीच विवाद बढेर झडप भएको हो । झडपका क्रममा बिहे घरका कुर्सीहरु पनि तोडफोड गरिएको छ ।तोडफोडमा उत्रिएकाहरुले बिहेको मण्डप पनि भत्काइदिएका छन् । दोहोरो झडप भए पनि जन्ती भने बेहुला र बेहुली लिएर शनिबार बिहानका राति १ बजेतिर विराटनगर फर्किएका थिए ।
प्रहरीका अनुसार झडपले बिहे स्थल तनावग्रस्त भएपछि तत्कालै बेहुली अन्माएर पठाइएको थियो ।लिएर फर्किएको जन्तीको टोलीलाई प्रहरीले निक्कै परसम्म स्कर्टिङसमेत गरेको थियो । झडपमा संलग्न व्यक्तिहरुको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रंगेलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।