विराटनगर। जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका १ जना थुनुवाको उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–४ घर भएका ३८ वर्षीय जेठा भनिने जितबहादुर देवानको मृत्यु भएको हो। कारागारका जेलर गौरव ढुंगेलका अनुसार देवान अदालतले धरौटीबापत मागेको २५ हजार रुपैयाँ तिर्न नसकेर कारागार चलान भएका थुनुवा हुन्।
हातखुट्टा नचल्ने समस्या देखिएपछि देवानलाई उपचारका लागि फागुन २९ गते कोशी अस्पतालमा भर्ना गरिएको उनले बताए। अस्पतालको आईसीयूमा उपचार जारी रहकै बेला दिउँसो ३:५५ बजेतिर मृत्यु भएको ढुंगेलले जानकारी दिए।
आफ्नै घरमा आगो लगाएको घटनामा देवानलाई प्रहरीले पक्राउ गरेर आपराधिक उपद्रव मुद्दा चलाएको थियो। जिल्ला अदालत मोरङले देवानसँग धरौटीबापत २५ हजार रूपैयाँ लिएर मुद्दाको पुर्पक्ष गर्न गत मंसिर २३ गते आदेश दियो। अदालतले मागेको धरौटीबापतको रकम बुझाउन नसकेपछि उनलाई थुनामा राख्न कारागार चलान गरिएको थियो।
मुद्दाको छिनोफानो भइसकेको छैन। मुद्दा विचाराधीन रहेकै अवस्थामा थुनुवाको मृत्यु भएको छ। शवलाई कोशी अस्पतालकै शव गृहमा राखिएको ढुंगेलले बताए। ‘आफन्त एवं परिवारका सदस्य सम्पर्कमा आइसकेकाले प्रक्रिया पूरा गरेर शव जिम्मा लगाउने तयारी भइरहेको छ,’ उनले भने, ‘देवानलाई स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेको हुनसक्ने देखिन्छ।’