म्याग्दीको मालिका गाउँपालिका-७ मा आज दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर एकको हत्या भएको छ भने दुई जना घाइते भएका छन् ।
छपनी प्रहार हुँदा मालिका-७, बिमवाङकी ७० वर्षीया मनीषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । उनका अनुसार मनीषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन् । घटनास्थलमा पुगेका प्रनाउ कुँवरले हत्यामा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको बताए ।
मनीषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई चिर्पट प्रहार गरेर घाइते बनाई भागेका स्थानीयको भनाइ छ । घाइते दुवैलाई थप उपचारका लागि दरवाङबाट हेलिकोप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको प्रनाउ कुँवरले जानकारी दिए । उनका अनुसार दरवाङ प्राथमिक उपचार केन्द्रमा सामान्य उपचार गरी पोखरा पठाइएको हो ।
प्रियङ्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रनाउ कुँवरले जानकारी दिए ।
घटनाको विस्तृत अध्ययन र अनुसन्धान जारी रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको उनले बताए ।