Search
Close this search box.
Search
Close this search box.

म पनि लेख्नु र ?

  • गङ्गाराम गड्तौला

म पनि लेख्नु र ? भनेँ मैले । महानन्द पोखरेलको स्मृतिमा लेख्नुपर्ने । लेख्न त मन चाहिन्छ । बाँचेको मान्छेले मात्रै लेख्न सक्छ । बाँचेको मान्छेसँग मन हुन्छ । मरेको मान्छेको मन हुँदैन ।

म बाँचेको छु र ? म त मरिसकेँ । मरेपछि मानिस माटो हुन्छ । ढुङ्गा हुन्छ । ढुङ्गाको मन हुँदैन । मान्छे हुन मन चाहिन्छ । म त मन नभएको मान्छे – ढुङ्गाजस्तै । म नै ढुङ्गो । मनै ढुङ्गो । अर्थात् ढुङ्गो जस्तै मन । ढुङ्गो जस्तै म । मजस्तै ढुङ्गो । ढुङ्गाले मान्छेलाई बाँच्ने आधार दिन्छ । ढुङ्गाकै घर – ढुङ्गाकै भर । म ढुङ्गाजस्तै छु ।

EPIC

मलाई प्रयोग गरेर घर बनाउनु । ढुक्क । कुलो, पैनी, बाटो बनाउनु । अनि पुल बनाउनु । सबैतिर ढुङ्गो । ढुङ्गैढुङ्गा जोडेर देश बनाउनु । गाउँ, सहर र बस्तीहरू बनाउनु, भइहाल्छ नि ! ढुङ्गा भित्र मन हाल्न पाए कति राम्रो हुन्थ्यो! ढुङ्गाले सबै गर्थ्यो । एउटा ढुङ्गाले अर्को ढुङ्गाको खुट्टा तान्दैन । अर्को ढुङ्गाले अर्को ढुङ्गाको कुरा काट्दैन ।

ढुङ्गालाई आफ्नो छोराछोरी प्यारो र अर्काको बिरानो हुँदैन । ढुङ्गालाई पैंसा पनि चाहिँदैन। ढुङ्गो वडाध्यक्षमा पनि उठ्दैन । मन्त्री बन्दैन । ठेक्कापट्टा केही गर्दैन । बिचारा ढुङ्गा भेदभाव गर्न जान्दैन। मन नभएका मान्छे सबै ढुङ्गा । मन भएका मान्छे सबै मान्छे। महानन्द हजुरबा मन भएका मान्छे। साँच्चैका मान्छे। हामीजस्तो ‘मान्छेजस्ता’ मान्छे होइन । त्यसैले उनी बाँचेका छन्। मन भएका मान्छे सधैं बाँच्छन्। मन नभएका मान्छे बाँच्दा पनि मर्छन् ।

मरेका मान्छे बस्ने ठाउँ पनि मरेकै हुन्छ । बाँचेका मान्छे बस्ने ठाउँ बाँचेको हुन्छ । शान्तिनगर मरेको ठाउँ । महानन्द हजुरबाले मृतसञ्जीवनी दिएर बचाए । सानो कुरा हो र ! हामीले थाहा पाउँदा पनि शान्तिनगर मरुभूमि थियो । रूखका टोड्का र खाल्डोमा जमेको पानी भेट्दा अमृत हुन्थ्यो । नुहाउनु त परको कुरो । मरेको मान्छेलाई के नुहाउनु ! त्यस्तो अवस्थामा ३-४ किलोमिटर टाढा बाँसको धारो जोडेर मरेकालाई पानी खुवाउने बुद्धि महानन्द हजुरबालाई कहाँबाट आयो ? हो, त्यो मन हो । अचम्मै गर्नुभएछ ।

बाँसका खम्बा गाढेर बाँसकै भाटा जोड्दै जोड्दै माथि इलामको सिमानानिरबाट बस्तीसम्म पानी ल्याउनुभएछ । मिलको त कुरै छाडौं। एक पाथी धानको बोक्रा उक्काएर चामल तुल्याउन रातभरि तिघ्रा बजार्नुपर्थ्यो । हाम्रा आमा बा जिउँदै हुनुहुन्छ। दिनभरि मेलापात – रातभरि ढिकीजाँतो ।

अनि त्यति गरेको केलाई ? खानलाई। थुक्क जिन्दगी! यो पाराले भएन । हजुरबाको मनले सोच्यो – यी दुखियाहरूलाई सजिलैसित धान, मकै, कोदो, गहुँ पिस्ने मिसिन बनाइदिनुपर्यो । उहाँले टिमाई खोलाको डिलमा पानी मिल बनाउनुभयो – पानीघट्ट। प…..र बाट कुलो बनाएर ल्याएको मिल मास्तिर बाट ह्वार्र तल खसाएको ।

मिलको तलबाट हेर्दा भित्रपट्टि पङ्खा जस्तो मिसिनमा पानी ठोकिएर फनन घुम्ने ! रातभरि लाग्ने काम आधा घन्टामै हुनेभो । हजुरबाको मन थियो र पो सबैले धान पेल्न पाए । धान त भए पो पेल्नु ! गहिरोमा टिमाई खोला । सम्म परेकै भए पनि प्याङ्खर गाउँ । बुकीफूल नउम्रिने । कोदे भन्थे अरे अरूले । हुन त मरेकालाई कोदे त के, जे भने पनि हुन्थ्यो।

हजुरबाकै बुद्धिले त्यति गहिरो खोलाको पानी डाँडामाथि उक्लियो । कुलो आयो गाउँमा – मानन्द पैनी । धान रोपियो । फल्यो । फल्यो मकै पनि । गहुँ पनि। अनि मिलमा पिसाउन मिल्ने भयो । अहिले भनुन् त कोदे ! शान्तिनगर जत्तिको बसोबास योग्य ठाउँ नेपालमै छैन। हजुरबा जन्मेका थिए। उनीसँगै उनको मन पनि जन्मेछ । धन्य ! भनेपछि प्रकृतिले सबै थोक दिन्छ। त्यसलाई प्रयोग गर्न मान्छेको बुद्धि पलाउनु आवश्यक छ । बुद्धिचाहिँ मन भएको मान्छेसित मात्रै हुन्छ ।

अनि त्यही मनका धनी महानन्द हजुरबा । महानन्द पोखरेल । एउटा सिङ्गो राष्ट्रले पाउने मान्छे शान्तिनगरले पायो । एउटा ठाउँमा एक जना बाँचेको मान्छे भए पुगिहाल्ने रहेछ। हाम्रो गाउँमा महानन्द हजुरबा बाँचेका थिए। अहिले पनि छन्। बाँचेको मान्छेसित मन हुन्छ।

त्यही मनले अरूलाई सास फेराउँदो रहेछ। ‘दोकाने बा’ रे ! महानन्द हजुरबालाई ‘दोकाने बा’ भन्थे। किन ? सबैलाई थाहा छ। उनी आफ्ना लागि होइन, अरूका लागि दोकान गर्थे । व्यापार गर्थे । भारतको नक्साल बजार दुइटा घोडा लिएर जान्थे। दसैंका बेला दुइटा घोडामा कुस्त लुगा लिएर आउँथे । दसैंमा गाउँलेले नयाँ लुगा फेर्न पाउँथे । सक्नेले तिर्थ्यो, नसक्नेले अर्को साल पनि पाउँथ्यो। खाने अन्न नपाएर कहिलेकाहीँ गाउँलेहरू प्याकप्याक पर्थे। उनले कहाँबाट थाहा पाउँथे कुन्नि, घोडामा चामल लादेर ल्याई आँगनमा पछारिदिन्थे । उनी भन्थे – कमाएर तिर्नू ।

हजुरबाको मनकै कारण अलिअलि मान्छे बाँच्न थाले । अलि बुद्धि घुस्यो । हजुरबाले बनाएको कुलाले हरियो बनाएपछि बोटबिरुवासँगै मान्छेको मन पनि उम्रिन थाल्यो। गाउँ भयो हरियो । मन भरियो । उर्वर बन्यो । अन्नबाली फल्यो । बजार चाहियो । खोला तर्ने बुद्धि छैन। फेरि हजुरबाको मनले झोलुङ्गे पुल बनायो । भइगयो त ! अब टिमाई खोला सित पौंठेजोरी खेल्ने दिन पनि सकिए । भनें नि, मन भएको एउटा मात्रै मान्छे भए पुगिहाल्छ! एक जना मन भएका बुद्धले गर्दा आज संसारलाई पुगेको छ ।

हो, शान्तिनगरले मन भएका महानन्दलाई जन्मायो – धन्य छ शान्तिनगर! यी छन् कुरा । महानन्द हजुरबा मन भएका मान्छे। मन भएका मान्छेलाई मन भएकैले पो चिन्छन् त ! उनी मरे अरे ! कसले भनेको ? शान्तिनगर मरेको छ र ! मरेको छैन भने हजुरबा पनि मरेका छैनन्। जिउँदो इतिहास हुन् उनी । उनको कर्मका रूपमा उनी बाँचेका छन् ।

अनि मैले किन लेख्नु ! उनको सुकार्य नै उनी हुन् । बस् ! म मन नभएको मान्छे! मन नभएको मान्छेले मन भएको मान्छेका बारेमा लेख्न हुन्छ र ? र पो मैंले भनेको – म पनि लेख्नु र ?

तैपनि यी चार वटा अनुष्टुप् छन्दका श्लोकचाहिँ हजुरबालाई समर्पण गरेँ :

मनको धन हो ठुलो मनै हो मठ-मन्दिर ।

गरी मानवको काम बढ्यौ अघि निरन्तर ॥ १॥

थियो जमिन त्यो बाँझो सुख्खा माटो र जर्जर ।

उदायौ सिर्जना बोकी, बनायौ अनि उर्वर ॥२॥

हाहाकार थियो पानी, खोजीमै बित्तथ्यो दिन ।

तिमीले प्यास मेटायौ, तृप्त भो सबको मन ॥ ३ ॥

यस्तै कर्म सदा गर्ने, महानन्द महामना ।

सधै बाँचिरहू हामी, माझ गर्छु म वन्दना ॥ ४ ॥

(लेखक कर्णाली एजुकेशन फाउन्डेसन बुद्धशान्तिका प्राचार्य हुन् ।)माहानन्द पोखरेल स्मृति ग्रन्थमा प्रकाशित छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

  1. हाम्रो शान्तिनगर, राम्रो शान्तिनगर , तर मैले त अब शान्तिनगरको अस्तित्व मेटाउने षड्यन्त्रको बिजारोपण भएको अनुभूति गरेको छु कहिलेकाहीँ आउँदा ।। शान्तिनगरको पारिलो घाम छोपेर कालो बादल लाग्न थालेको पाएको छु । त्यसैले शान्तिनगर उपेक्षित हुनुहुन्न भन्ने शुभकामना ।।

    अन्त्यमा
    गंगाराम सरलाई उत्तरोत्तर प्रगतिको कामना ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *