विराटनगर। इजरायल–इरानबीच जारी युद्धमा फसेका विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला बिहीबार राति सकुशल घर फर्किएका छन्।
मेयर कोइराला दुई दिनअघि इजरायलको सिफाइम शहरबाट स्थलमार्ग हुँदै जोर्डन, त्यसपछि कुवेत हुँदै भारतको मुम्बई पुगेका थिए। मुम्बईबाट नयाँ दिल्ली हुँदै उनी बिहीबार अपरान्ह करिब ५ बजे काठमाडौँ आइपुगेका हुन्। काठमाडौँमा केही समय बिताएर उनी राति करिब ८ बजे विराटनगर आइपुगे।
‘युद्धको त्रास आँखैदेखि अनुभव गरें’
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मेयर कोइरालाले युद्धका त्रासदीपूर्ण दृश्य आँखैअगाडि देख्नुपरेको बताए। “आकाशबाट एकैपटक सयौं क्षेप्यास्त्र खस्ने, त्यसअघि साइरन बज्ने, जनजीवन अस्तव्यस्त हुने—यस्ता दृश्य टेलिभिजन र चलचित्रमा मात्र देखेको थिएँ, तर योपटक प्रत्यक्ष भोगें,” उनले भने।
कोइरालाले इजरायलमा रहेर हमास र इरानबीचको युद्ध अवस्थालाई नजिकबाट नियाल्न पाएको बताए। “मानसिक तनावसँगै जीवनको असहजता महसुस भयो। तर मेरो विराटनगरवासीको माया र हौसला, साथै इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित र दूतावास टोलीको सहयोगले मलाई बल मिल्यो,” उनले बताए।
नेपालीहरूको अवस्था र सुरक्षा
कोइरालाका अनुसार इजरायलमा सरकारी रूपमा रोजगारीका लागि गएका करिब २ हजार नेपाली छन्। तर, अन्य माध्यमबाट पुगेका नेपालीहरूको यकिन संख्या छैन। “दूतावासमार्फत प्राप्त जानकारीअनुसार अहिले उनीहरू फर्किनुभन्दा पनि सुरक्षित बस्ने उपायमा केन्द्रित छन्,” उनले भने।
उनका अनुसार युद्धको समयमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म क्षेप्यास्त्र आक्रमणको सम्भावना बढी हुन्छ। “मोबाइल एप्समार्फत साइरन बज्नेबित्तिकै मानिसहरू नजिकैका बंकर वा सेल्टरमा पुग्ने गर्छन्। डेढ मिनेटभित्र सेल्टरमा पुग्न सके धेरै हदसम्म सुरक्षित हुने देखिन्छ,” कोइरालाले भने।
बंकर र सेल्टरले घटाएको मानवीय क्षति
इजरायलको घर संरचनाबारे जानकारी दिँदै उनले भने, “सन् १९९० अगाडि बनेका अधिकांश घरमा भुइँतलामा नै बंकर बनाइएको हुन्छ। नयाँ घरहरूमा भने प्रत्येक तलामा सुरक्षित आश्रयस्थल बनाइन्छ।” यस्ता संरचनाका कारण मानवीय क्षति न्यून रहेको उनले बताए।
अध्ययन अवलोकन प्रभावित
मेयर कोइराला कृषि तथा मरुभूमि क्षेत्रमा हुने खेतीबारे अध्ययन र अनुसन्धानका लागि इजरायल पुगेका थिए। “यात्राको सुरुआतमा तीन दिन अध्ययनको अवसर राम्रोसँग पाइयो। तर, त्यसपछि युद्ध चर्किएपछि हाम्रो कार्यक्रम प्रभावित भयो,” उनले स्पष्ट पारे।
‘इजरायली नागरिक मानसिक तनावमा’
कोइरालाले युद्धको दीर्घकालीन असरस्वरूप स्थानीयमा मानसिक रोगको समस्या बढेको बताए। “प्रत्येक रात निदाउनुअघि उनीहरू भोलिपल्ट सकुशल बाँच्न सकिन्छ कि सकिन्न भन्ने भयमा बाँचिरहेका छन्,” उनले भने।