दक्षिण युरोपका देशहरू, इटाली, स्पेन, ग्रीस र पोर्चुगल हाल अत्यधिक गर्मीको सामना गरिरहेका छन्, जसले जनजीवनमा गम्भीर असर पारेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार कतिपय स्थानहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।
मौसम विज्ञहरूले जलवायु परिवर्तनको प्रभावस्वरूप यस्ता गर्मीका लहरहरू लगातार देखिन थालेको चेतावनी दिएका छन्। पोर्चुगलमा आइतवार मात्रै दुई तिहाइ भूभागलाई ‘अत्यधिक तापक्रम’ तथा ‘जङ्गल डढेलोको उच्च जोखिम’ क्षेत्र घोषणा गरिएको छ। राजधानी लिस्बनमा तापक्रम ४२ डिग्री सेल्सियस नाघ्ने अनुमान गरिएको छ।
त्यस्तै, इटालीका लाजियो, टस्कनी, कालाब्रिया, पुग्लिया र उम्ब्रिया लगायतका क्षेत्रमा दिउँसोको कडा घाममा बाहिरी कामकाजमा रोक लगाउने तयारी भइरहेको छ। इटालियन ट्रेड युनियनहरूले यस्तो रोकलाई राष्ट्रिय तहमा विस्तार गर्न माग गरेका छन्।
इटालीको स्वास्थ्य मन्त्रालयले राजधानी रोमसहित मिलान, नेपल्स आदि २१ वटा प्रमुख शहरहरूलाई ‘रेड अलर्ट’ अन्तर्गत राखेको छ, जसले अत्यधिक गर्मीबाट सतर्क रहन जनतालाई सचेत गराइएको छ।