बुद्धशान्ति – झापाको नयाँ गन्तव्यको रुपमा परिचित बुद्धशान्ति गौंडाको जोरसाँघुमा र जरेवरमा आज सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय वाइ एफ सि(YFC) क्लबको आयोजनामा बुद्धशान्ति -६ जोरसाँघु र राष्ट्रिय युवासंघको आयोजनामा सुनमाईको जरेवर क्षेत्र सरसफाई भएको हो।
पछिल्लो समय गर्मी छल्न जिल्लाका विभिन्न स्थानबाट खोलामा नुहाउन र पौडि खेल्न आउनेको संख्या बढेको छ।
स्थानीय टिमाई, ठोट्ने र भालुखोलामा पौडि खेल्न आउनेको सङ्ख्या बढेको हो।
संख्या बढेसँगै उनीहरुले ल्याउने पेय र खाद्य पदार्थका खोलहरु यत्रतत्र छर्ने गरेकाले सरसफाई गरिएको क्लबका सदस्य एवं बुद्धशान्ति कार्यपालिका सदस्य दिनेश लेप्चाले बताए।
उनले भने, ‘ ब्यापार व्यवसाय बढेसँगै केहि समस्या पनि बढ्ने संकेत देखिएकाले बेलैमा यसतर्फ पर्यटकहरुलाई सचेत गराउने काम गरेका हौं’।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५का अध्यक्ष डेगेन्द्र कार्की, वडा नम्बर ६का शिवराज पौडेल र रोङ गाउँपालिका वडा नम्बर ५ का दलबहादुर पुलामी समेत उपस्थित थिए।
बुद्धशान्ति र रोङले साझा महत्त्वको स्थल बनाउने प्रतिबद्धता जनाउँदै जनप्रतिनिधिले आगामी साता भित्र ठोस कार्यक्रम तय गरिने जानकारी दिए।
क्लबले सरसफाईसँगै आगन्तुकलाई सचेतना दिने ब्यानर समेत राखेको कार्यक्रमका एवं क्लबका सदस्य साहिल बस्नेतले बताए।
खोला किनारमा फालिएका बोत्तल,प्लास्टिक,गुट्खा, चाउचाउ र साबुनका खोल भेला गरी डस्ट्पिटमा फालिएको छ भने जङ्गल समेत फडानि गरिएको अर्का सहभागी बाबुल दाहालले बताएका छन्।
युथफोर्स बुद्धशान्ति,राष्ट्रिय युवासंघ,राष्ट्रिय खेलकुद महासंघले समेत सरसफाईमा सहभागिता जनाएको स्थानिय होइसल लामाले बताएका छन्। शनिबारको कार्यक्रम भएकाले खोलामा पौडि खेल्न गएकाहरुले पनि सरसफाइमा सहयोग गरेका थिए।

युवासंघले गर्यो जरेवर सफाई
यता राष्ट्रिय युवासंघ बुद्धशान्तिले सुनमाई स्थित पर्यटकीय स्थल जरेवरमा सरसफाई गरेको छ।
युवाहरूलाई पर्यटकिय क्षेत्रको महत्त्व बुझाउन सके यस्ता क्षेत्रको संरक्षणमा टेवा पुग्ने युवासंघ बुद्धशान्तिका अध्यक्ष पवन खतिवडाले जानकारी दिए।
उनका अनुसार सरसफाइ कार्यक्रम स्थानियवासी,युवासंघ र युथफोर्सको स्वस्फूर्त सहभागिताले सफल भएको बताए।
कार्यक्रममा युथफोर्स बुद्धशान्तिका अरुण थेबे लगायतको सहभागिता थियो। युवासंघ बुद्धशान्तिले अघिल्लो साता बौद्ध गुम्बाको समेत सरसफाइ गरेको थियो।