झापा | मलेसियामा जारी यू-१९ महिला विश्वकपमा नेपालकी कप्तान पूजा महतो हालसम्म सबैभन्दा धेरै विकेट लिने बलर बनेकी छन्। आज आयोजक मलेसियाविरुद्धको खेलमा उनले चार विकेट थपेकी छन्।
प्रतियोगितामा पूजाले हालसम्म ९ विकेट लिएकी छन्। आजको खेलअघि उनी ५ विकेटसहित सर्वाधिक विकेट लिने बलरहरूको सूचीमा १६औं स्थानमा थिइन्। तर, आजको प्रदर्शनपछि उनले पहिलो स्थानमा स्थान बनाउँदै ठूलो फड्को मारेकी छन्। पूजाले बंगलादेश र स्कटल्याण्डविरुद्ध १–१ विकेट तथा अस्ट्रेलियाविरुद्ध ३ विकेट लिएकी थिइन्। यसअघि शीर्ष स्थानमा श्रीलंकाकी चामुदी प्रबोदा थिइन्, जसले ३ खेलमा ७ विकेट लिएकी छन्।
त्यसैगरी, स्कटल्याण्डकी मैसी मसेरियाले पनि ७ विकेट लिँदै दोस्रो स्थानमा स्थान बनाएकी छन्। प्रतियोगितामा ६ जना बलरहरूले समान ६ विकेट लिएका छन्।
नेपाल प्रतियोगिताबाट बाहिरिइसकेकोले पूजाको नाममा थप विकेट आउने सम्भावना छैन। त्यसैले उनलाई अन्य बलरहरूले उछिन्न सक्छन्।