काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ । सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न सतर्कता अपनाउनु पर्ने बताएका हुन् ।
उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौंको तापक्रम १७ डिग्रीबाट ८ डिग्री सेल्सियससम्म झरेको बताए । उनले कात्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस १ डिग्री सेल्सियससम्म पुगेको जानकारी दिए ।
आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको उनले बताए ।
कात्तिक महिनामा नै यत्ति चिसो बढ्दै जानुले आगामी दिनमा चिसो कति बढ्दै जान्छ भनेर अहिले नै भन्न नसकिने उनको भनाइ छ । ‘मौसम केन्द्रको तथ्यांक हेर्दा जुम्लामा माइनस १ सम्म पुगेको अवस्था छ, काठमाडौंमा ९ डिग्रीसम्म आएको अवस्था छ,’ उनले भने, ‘त्यसले गर्दा काठमाडौंको तापक्रम अहिले नै माइनसमा जान्छ भनेर भन्न सकिँदैन । तर यो वर्ष तापक्रम माइनस वा जिरोको आसपास जान सक्छ । अझै जाडो आउने दिनहरु मंसिर, पुस, माघ महिना बाँकी नै छ, कात्तिकमै यत्तिको जाडो हुँदा यही क्रमले अलि जाडो हुने देखिन्छ ।’
वरिष्ठ मौसमविद् पौडेल जाडो याममा बढी नै प्रदूषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउन सुझाव दिएका छन् ।