बुद्धशान्ति । नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखा बुधबारेले विविध कार्यक्रमका साथ रजत महोत्सव मनाउने भएको छ । २०५७ सालमा रामजानकी मन्दिरको आश्रयमा झोलाबाट सुरु गरेको रेडक्रस अभियान २५ वर्ष पुगेको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउने तयारी भइरहेको पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका सभापति पुष्पराज भट्टराईले रजत महोत्सवका अवसरमा स्मारिका प्रकाशन गर्ने तयारी समेत थालिएको जनाएका छन् । उनले प्रकाशन हुने स्मारिकामा रेडक्रस सोसाइटीको सैद्धान्तिक चर्चा, अन्तर्राष्ट्रिय राष्ट्रिय र स्थानीय रेडक्रस सोसाइटीको काम, कर्तव्य र सेवा बारे चित्रण गर्नुका साथै नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखा र स्थानीय सरकार, विद्यालय सर्कलहरु, संघसंस्था एवम् समुदाय बिचको अन्तरसम्बन्ध बारेमा पनि अभिलेखीकरण गरिने बताएका छन् ।
स्मारिका प्रकाशन गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । प्रकाशन तथा लेख रचना संकलन समितिको संयोजकमा पुष्पराज भट्टराई, सम्पादन समिति संयोजकमा गणेश निरौला र आर्थिक उपसमितिको संयोजकमा केशव सापकोटा चयन गरिएको छ । उक्त समितिले आ–आफ्नो जिम्मेवारीमा काम गर्ने जनाइएको छ ।
करिब चार सय पेज रहने गरी स्मारिका तयार हुने र उक्त स्मारिका प्रकाशन गर्न करिव ३ लाख पचास हजार रुपैँया खर्च लाग्ने आर्थिक उपसमितिको संयोजक केशव सापकोटाले पत्रकार सम्मेलनमा जनाएका छन् । उनले यो स्मारिका आउँदो मंसिर महिना भित्र विमोचन गर्नेगरी तयारी गरिरहेको बताएका छन् ।
२०५७ सालमा स्थापना भएको बुधबारे रेडक्रस, रेडक्रसकर्मीहरूको अथक प्रयासबाट एक तले पक्की कार्यालय भवन निर्माण गर्नुका साथै एउटा एम्बुलेन्स पनि आफ्नै लगानीमा खरिद गरेर सञ्चालन भइरहेको सचिव टंक निरौलाले बताएका छन् । उनले बुधबारे रेडक्रस २५औं वर्ष प्रवेश गरिरहँदा रेडक्रस अभियानलाई यहाँसम्म ल्याउन सहयोग गर्नुहुने सबैमा धन्यवाद दिएका थिए । यो रजत महोत्सवलाई समेत सफल बनाउन सबैले सहयोग गर्न अपिल समेत गरेका छन् ।